फिचर

अमेरिकी जनगणनाका लागि नेपाली समुदायको ‘कम्प्लिट काउन्ट कमिटी’ गठन

कल्पना घिमिरे /न्यूयोर्क,अमेरिका

अमेरिकामा हुन लागेको राष्ट्रिय जनगणना २०२० (सेन्सस २०२०)मा सबै नेपालीलाई सामेल गराउने उदेश्यले ‘कम्प्लिट काउन्ट कमिटी’ गठन गरिएको छ । शेर्पा किदुगको पहलमा गत शनिबार जनगणना सम्बन्धी नेपाली समुदायसंग गरिएको छलफल पछि उक्त कमिटि गठन गरिएको हो । किदुग र कमिटिले सेन्सस ब्यूरोको अफिसियल पार्टनको रुपमा काम गर्दै नेपाली समुदायलाई सक्रियता पूर्वक जनगणनामा सहभागी हुन प्रोत्साहन गर्नेछ । साथै नेपाली समुदायमा सञ्चालित बिभिन्न संघसंस्था, संञ्चारमाध्यमलाई पनि सेन्सस ब्युरोको अफिसियल पार्टन भएर सक्रियता जनाउन आह्वान गरेको छ ।
किदुगले आयोजना गरेको नेपालीहरुको छलफलमा रिजवुड नेपाली समाजका महासचिब दिपकराज कफ्लेको संयोजकत्वमा बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको सहभागीतामा कमिटि बनाइएको हो ।
किदुगका अध्यक्ष उर्गेन शेर्पाले भने, ‘हाम्रो समुदायको सक्रियता र सहभागिताबारे अमेरिकी जनप्रतिनिधिलाई बुझाउन, पछिल्लो समय नेपाली आप्रवासीको संख्या बढिरहेको जानकारी दिन र सेन्सस जस्तो महत्वपूर्ण काममा एउटा पनि नेपाली नछुटुन भन्ने लक्ष्य राखेर कमिटिमार्फत नेपाली समुदायलाई एक्यवद्ध गरेका हौं । त्यस बाहेक जनगणनामा सक्रियतापूर्वक काम गर्न किदुगले आफ्नै संस्था अन्तरगत पनि छुट्टै कमिटि गठन गरेको छ । उक्त कमिटि अन्तरगत ५ वटा बिभिन्न उप समिति बनाएर युवा विद्यार्थीहरुलाई समेत सक्रिय बनाएका छौं ।’
उनका अनुसार आगामी जनगणनाका लागि धेरै भन्दा धेरै नेपाली कर्मचारी खटाउने उदेश्यले सेन्सस ब्युरोका प्रतिनिधिहरुसंग छलफल गरिरहेका छौं । यस कार्यक्रम अवधिभर पनि हामीले तीन वटा कम्प्युटर राखेर सेन्सस ब्युरो स्पेसलिस्टबाट रोजगारीको फारम भरेका थियौं । उनले नेपाली समुदायमा सञ्चालित अन्य संघ संस्थालाई आ–आफ्नो ढंगले सक्रियता बढाउन पनि अनुरोध गरेका छन् ।
‘दश वर्ष अघिको सेन्ससमा यति ठूलो संख्यामा नेपालीहरु थिएनन् । जनगणनाबारे यति सारो हल्लाखल्ला पनि हुँदैनथियो । भए पनि नेपाली आप्रवासीहरु डराएर जनगणनामा सहभागी नै हुँदैनथिए’ अघिल्लो जनगणना सम्भँदै उनले भने, ‘तर, यसपाली हामीले सबै नेपालीलाई बुझाउनु जरुरी छ । जस्तोसुकै अवस्थामा अमेरिका आइपुगेको व्यक्ति जनगणनामा सहभागी हुनु आवश्यक छ । तपाईको ब्यक्तिगत विवरणलाई सेन्सस ब्युरोले अत्यन्तै गोप्य राख्ने भएकाले भविश्यमा कुनै पनि किसिमको अफ्ठेरो पर्ने छैन ।’
तपाईको ब्यक्तिगत विवरण सेन्सस ब्यूरोले सरकारकै अन्य निकायलाई समेत दिन मिल्दैन । युएस सेन्सस ब्युरो अमेरिकी कानुनको आर्टिकल १३ अनुसार व्यक्तिको सुचना गोप्य राखिने ब्यवस्था छ । सेन्सस ब्युरोले संकलन गरेको ब्यक्तिगत विवरण कुनै पनि सरकारी निकाय र अड्डा अदालतमा उपलब्ध गराइने छैन । सेन्सस ब्युरोका कर्मचारीले समेत प्रत्येक ब्यक्तिको गोपनियतालाई सुरक्षित राख्नको लागि सफथ लिएका हुन्छन् । उक्त कानुन उलङ्घन गरेमा कडा भन्दा कडा सजाय सहित २ लाख ५० हजार अमेरिकी डलर जरिवाना र पाँच बर्षसम्म कराबासको सजाय वा दुबै सजाय हुन सक्ने ब्यबस्था छ ।
‘सेन्सस ब्युरोले संकलन गरेको सुचना इमिग्रेसन, एफबिआइ र सरकारका कुनै पनि एजेन्सीमा दिन नमिल्ने भएकाले ढुक्कले जनगणनामा भाग लिन पनि आग्रह गर्दछु’ उनले भने, ‘कानुनी रुपमा बसोबास नगरेका, असाइलम गरेका, टिपिएस सुविधा लिएका, तल्लो बाटो भएर अमेरिका आएका, ओभर स्टे गरेका जो कसैले पनि जनगणनामा भाग लिनु जरुरी छ ।’
अमेरिकामा सन् १७९० बाट जनगणना सुरु गरिएको हो । अमेरिकी संविधानमा ब्यवस्था भए अनुसार अमेरिकामा प्रत्येक दश÷दश बर्षमा जनगणना गरिन्छ । जनगणनामा प्रत्येक ब्यक्तीको गणनामात्र नभएर अमेरिकी सरकारले प्रत्येक बर्ष बिनियोजन गर्ने बजेटमा आफ्नो हिस्सा सुरक्षित गर्नु पनि हो । जनगणनामा भाग लिनु भनेको आफु, आफ्नो परिवार र समुदायको भबिष्य सुनिश्चित गर्नुका साथै आफ्नो मौलिक हक अधिकारको प्रयोग र नागरिक दायित्व पुरा गर्नु पनि हो । आगामी २०२० को अप्रिल बाट सुरु हुने जनगणनामा पहिलो पटक अनलाइन र सेन्सस ब्युरोको फोनमार्फत आफ्नो विवरण भरी पठाउन सकिने ब्यबस्था गरिएको छ । हुलाकमार्फत पनि प्राप्त फारममा आफ्नो विवरण भरी पठाउन सकिनेछ । आगामी जनगणना २०२० मा कुनै पनि नेपालीको नाम नछुटोस भन्ने उद्धेश्यले किदुगले सचेतना अभियान चलाएको हो । कार्यक्रममा जनगणना के हो ? किन हाम्रो सहभागिता आवश्यक छ ? लगायत विषयमा सेन्सस ब्युरोका पार्टनर लोप्साङ ठिन्ले सलाकाले समुदायलाई जानकारी गराएका थिए ।
अमेरिकामा जनगणनाकै आधारमा अमेरिकी कांग्रेस, राज्य, सिटी, स्थानिय सरकारमा प्रतिनिधि पठाइन्छ । केन्द्रिय सरकार र स्थानिय सरकारले कुनै पनि क्षेत्रको स्वास्थ्य, शिक्षा, बाटो, पुल भौतिक पूर्वधार बिकास र स्तरेन्नती लगायत दैनिकजीवनमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा जोडिएको अत्यावश्यक सेवा सुविधा प्रदान गर्नको लागि जनगणनालाई नै आधार मानिन्छ । कुनै पनि ब्यापार ब्यवसाय संचालन र सरकारबाट प्राप्त हुने सामुदायिक बिकासका योजनाको लागि जनगणना नै महत्वपूर्ण आधार हो । नेपालीलाई बिभिन्न सरकारी र गैरसरकारी क्षेत्रबाट प्राप्त हुन सक्ने सेवा सुबिधामा पहुँच बढाउन, अमेरिकी मुलधारको राजनीतिमा उपस्थिति मजबुत बनाउन, भाषा, साहित्य र सँस्कृति संरक्षण तथा सामुदायिक बिकासका नाममा सरकारबाट विनियोजन गरिने बजेटमा आफ्नो हिस्सा सुनिश्चित गराउन जनसंख्याको सही तथ्यांक हुनु अतिआवश्यक पर्छ ।
जनगणनाको मिति नजिकिँदै गर्दा सम्पूर्ण नेपालीहरु समेटिउन् भन्ने उदेश्यले नेपाली समुदायमा बिभिन्न जनचेतनात्मक कार्यक्रमहरु हुन थालेका छन् । मानव अधिकारका लागि न्यूयोर्कमा कार्यरत संस्था अधिकारले पनि कम्युनिटि लिडरहरुसंग बिभिन्न चरणमा छलफल गरिरहेको अधिकारकी डाइरेक्टर नर्बदा क्षेत्रीले जानकारी दिइन् । अधिकारले जनचेतनाका लागि भोलिन्टियर खटाएर बिभिन्न क्याम्पेन गरिरहेको पनि उनले बताइन् ।