समाचार

आलमविरुद्ध ३२ वर्षको जेल सजाए माग, मुदा दर्ता

रौतहट । इटा भट्टामा मान्छेलाई जिउँदै जलाउने जघन्य अपराधको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमविरूद्ध जिल्ला अदालत रौटहतमा अभियोग पत्र दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले रौटहत बमकाण्डका प्रमुख आरोपीआलमसहित १० जनाविरूद्ध अभियोग पत्र दर्ता गरेको हा । मूख्य आरोपी आलमसहित दस जनाविरुद्ध भिन्नाभिन्नै तीन कसूरमा अलग-अलग सजाय र एक जनालाई मतियार कायम गरी अदालतमा अभियोग पत्र दर्ता भएको हो ।

आरोपीहरुविरुद्ध कूल ३२ वर्ष सजायको माग गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । अभियोग पत्रमा उल्लेख अनुसार यी व्यक्तिहरुले एक दर्जन व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाएर मारेको उल्लेख छ ।

बम विस्फोटबाट घाइते तथा त्यसको विरोध गर्ने गाउँलेहरुलाई समेत जिँउदै इटा भट्टामा पोलेर मार्ने धन्दा गरेका सांसदलाई प्रहरीले पक्राउ गरेको छ । अन्य प्रतिवादी भने फरार छन् ।

रौतहट बमकाण्डको कसूरमा आलमसहित शेख भदई, मोबिन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन् भन्ने शेख मलकार, गौरीशंकर साह र मुक्ति साहलाई प्रतिवादी बनाइएर अभियोग पत्र दर्ता भएको छ ।

अफताब कांग्रेसका सांसद हुन् । अन्य फरार प्रतिवादीहरुविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । अभियोग पत्र दर्ता भएसँगै मंगलबार थुनछेक बहस शुरु हुने भएको छ ।

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचन मूखमै रौतहटको तत्कालिन राजपुर गाविस, ४ फरहदवामा बम बिस्फोट गराइएको थियो ।

सोही घटनामा व्यक्तिहरुलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ । यस क्रममा प्रहरीको समेत मिलेमतो देखिएको पिडितहरुले बताएका छन् ।

रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले प्रत्यक्षदर्शी र पीडकसमेतको बयान संलग्न गराई मानिसहरुलाई इँटाभट्टामा जलाएर मारेको देखिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

सोही प्रतिवेदनका आधारमा कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो । आलमले भने बम नै विस्फोट नभएको बताउँदै आएका छन् । तर, पिडितहरुको बयान अनुसार निकै दर्दनाक तरिकाबाट मानिसहरुलाई मारिएको थियो ।