घूमघाम

मार्चसम्म नारिता, रियाद र ग्वांझाउ उड्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सले आगामी मार्च २०२० सम्म कम्तीमा तीन नयाँ गन्तब्य बिस्तार गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

जापानको नारिता, साउदी अरेवीयाको रियाद र चीनको ग्वांझाउमा आगामी मार्च भित्र उडान बिस्तार भइसक्ने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए ।

उनका अनुसार यी गन्तब्यमा नेपालको तर्फबाट निगमले गर्नुपर्ने सबै तयारी सकेको छ । तर, ती मुलुकले दिनुपर्ने अन्तिम अनुमतीको पर्खाइ भइरहेको छ ।

चीनले नेपाल एयरलाइन्सको अडिट खोजिरहेको छ । निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई भने बेइजिंग उडानमा अनुमति दिइसकेको छ ।

रियाद र नारितामा समेत अन्तिम अनुमती कुरिरहेको उनले बताए । निगमले जापानको ओशाकामा भने उडान गरिरहेको छ ।

नेपाल भ्रमणको वर्षको अभियानलाई लक्षित गरी उडान बिस्तारको योजना बनाइएको कार्यकारी अध्यक्ष खरेल बताउँछन् ।