खेलकुद

१४ वर्षपछि नेपाल प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा

काठमाडौं । नेपाल १४ वर्षपछि पहिलो पटक प्रथम श्रेणीको क्रिकेट खेल्न मैदानमा उत्रिएको छ ।

नेपाल भ्रमणमा रहेको ऐतिहासिक टोली मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) र नेपालबीचको एक मात्र प्रथम श्रेणीको क्रिकेट बुधबारबाट राजधानीमा शुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु तीनदिवसीय खेलको पहिलो दिन एससीसीले राम्रो प्रदर्शन गरेको छ।

क्लवले टस हारेर ब्याटिङ रोजेको थियो । पहिलो ८६ ओभरको खेल भयो । यसमा कूल ६ विकेट गुमाएर टोलीले ३११ रन जोडिसकेको छ ।

एमसिसीका लागि यासिर आराफात ३५ रन र एलेक्स थमसन २१ रन बनाएर क्रिजमा रहँदा पहिलो दिनको खेल सकियो । यस दिन विल रोड्सले ७३ रन बनाए ।

टोलीका लागि तीन जना खेलाडीले अर्धशतक प्रहार गरिसकेका छन् । बलिङतर्फ सन्दीप लामिछाने, सोमपाल कामी र शरद भेषवाकरले समान २, २ विकेट लिए ।

नेपाल सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणीको क्रिकेट खेल्न लागेको हो । कप्तान ज्ञानेन्द्र मल्लसहित विनोद भण्डारी, ललितनारायण राजवंशी, राजु रिजाल, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी, पवन सरार्फ गरी ९ जनाका लागि यो खेल प्रथम श्रेणी क्रिकेटको डेब्यू समेत भएको छ ।

सोमपाल कामी र शरद भेषवाकरले भने प्रथम श्रेणीको क्रिकेट यसअघि पनि खेलिसकेका छन् । एससीसीको टोलीले नेपालमा एदिवसीय, टीट्वाण्टी र प्रथम श्रेणी गरी तीन वटा सिरिज खेल्दैछ ।