विश्व

पोखरामा दंग बंगलादेशी राष्ट्रपति

पोखरा । सुन्दर नगरी पोखरा पुगेर आँखै अगाडी सेताम्य हिमश्रृंखला अवलोकन गर्न पाउँदा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद दंग परेका छन् ।

श्रीमतीसहित बिहीबार पोखरा पुगेका उनले प्रकृतिको भरपुर आनन्द लिए । स्वच्छ, हराभरा वातावरणमा उनलाई बिहीबार मौसमले पनि साथ दियो ।

चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति बिहीबार नेपाली सेनाको हेलिकोप्टर चढेर पोखरा पुगेका थिए । विमानस्थलमा उनलाई गण्डकी प्रदेश सरकारका तर्फबाट विशेष सम्मान प्रदान गरियो ।

त्यसपछि उनी फेवातालमा जलशयरमा रमाए । करिब २० मिनेट उनले पानीमाथि बिताएका थिए । त्यसपछि करीव डेढघण्टा सम्म राष्ट्रपतिको टोली फिस्टेल लजमा बस्यो ।

उनीहरुका लागि त्यही लन्चको व्यवस्था गरिएको थियो । त्यहाबाट सेनाकै हेलिकोप्टरले राष्ट्रपतिलाई रुपाकोट रिसोर्ट लग्यो । त्यहाँबाट देखिने रूपाताल, बेगनास ताल, फेवातालको उनले अवलोकन गरे ।

अर्कोतर्फ सम्भुखमा देखिने माछापुच्छ्रे र अन्नपूर्ण हिमालको अग्लो कदले उनी निकै गदगद देखिन्थे । पोखराले आफूलाई निकै प्रभावित बनाएको उनले बताए ।

रूपाकोट रिसोर्टमा उनलाई रूपा गाउँपालिकाले सम्मान गरेको थियो । काठको ठेकी उपहार दिएर उनलाई नेपाली मौलिक संस्कृतिसमेत देखाइएको थियो ।

उक्त अवसरमा घाटु, सोरठी, मुसलमान समुदायको झाँकीसहित, मौलिक गीत प्रस्तुत गरि राष्ट्रपतिको स्वागत गरिएको थियो । मंगलबार नेपाल आएका उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।