खेलकुद

सागमा प्याराग्लाइडिङ नहुने, ६ टोलीले भाग नै लिएनन्

काठमाडौं । नेपालका लागि स्वर्ण पदक नै सुनिश्चित भएको प्याराग्लाइडिङ दक्षिण एसियाली खेलकुदमा समावेश नहुने भएको छ । यस खेलका लागि प्रतियोगिको आवश्यक संख्या नै पुगेन ।

बुधबार नाम दर्ताको अन्तिम दिन थियो । तर, यस खेलमा भाग लिन नेपाल र पाकिस्तानले मात्र नाम टिपाए । अन्य टोलीले भाग नलिने भएपछि प्याराग्लाइडिङ सागमा समावेश नहुने निश्चित भएको हो ।

दक्षिण यसियाली खेलकुद (साग) को १३ औं संस्करण नजिकिएसँगै यसको तयारी जोडतोडका साथ चलिरहेको छ । प्याराग्लाइडिङ सराङकोटमा खेलाउने तयारी थियो ।

यसले नेपालको पर्यटनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको थियो । सागमा प्रतियोगिता संचालन हुन कम्तीमा ३ राष्ट्रले भाग लिनुपर्ने प्रावधान रहेको छ । सागका खेल पोखरा र काठमाडौंमा हुँदैछन् ।

दुबै स्थानमा जोडतोडले तयारी जारी छ । नेपाल ओलम्पिक कमिटीका अनुसार पोखरामा रंगशाला निर्माणले गति दिएको छ । अबको ११ दिन पछि शुरु हुने सागको तयारीमा कुनै कसुर बाँकि नराखेको आयोजकको भनाई छ ।