Home / News / साहित्य / गजलः जिन्दगी यत्ति भए पुग्छ

गजलः जिन्दगी यत्ति भए पुग्छ

० जे. सागर

भयो दुख्यो जिन्दगानी यत्ति भए पुग्छ
कति सहुँ यो हैरानी यत्ति भए पुग्छ ।

काम, नाम, दाम देलास् आशा छैन सरकार,
छिटो गर्दे राहदानी यत्ति भए पुग्छ ।

एउटै आशिष छोरालाई बरु सहिद बनोस्,
तर बनोस् स्वाभिमानी यत्ति भए पुग्छ ।

जस्तो बना संघीयता हाम्रो भातृत्वमा,
नहोस् कुनै खिचातानी यत्ति भए पुग्छ ।

मरेपछि स्वर्ग पुगुँ या नर्कमै परुँ !
नेपालकै होस् हावापानी यत्ति भए पुग्छ ।

खाडीबाट आमालाई मुन्द्रा ल्याएको छु,
नलुटिदे राजधानी यत्ति भए पुग्छ ।

मेरो फोटो सन्ततिलाई देखाउँदै गर्नु,
नेमेटियोस् चिनाजानी यत्ति भए पुग्छ ।

सोचेजति कठिन छैन ‘सागर’भित्र डुब्न,
थोरै रहोस् सावधानी यत्ति भए पुग्छ ।

Check Also

सफलता, फराकिलो मन र इमानदारी

केशव श्रेष्ठ । भर्चुअलबाट वास्तविक साथीमा रूपान्तरित भएका साथीहरूको सहभागितामा स्थापना हुन लागेको कम्पनीको प्रारम्भिक …