स्वास्थ्य

कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टी

काठमाडौं । छिमेकी मुलुक चीनमा महामारीका रुपमा फैलिएको कोराना भाइरस नेपालमा समेत भेटिएको पुष्टी भएको छ ।

चीनबाट नेपाल आएका विद्यार्थीमा यसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको पुष्टी भएको हो ।

तीन विद्यार्थीको प्रारम्भिक जाँच गरी निश्चित गर्न डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङ पठाइएको थियो ।

उक्त जाँचको रिपोर्ट पोजेटिभ आएको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । व्यक्तिमा लक्षण नदेखिए पनि संक्रमण रहेको पुष्टी भएको र उनलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

मन्त्रालयका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा यस रोगबारे सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको छ ।

मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा आवश्यक तयारी गरिएको छ ।

त्रिभुवन विमानस्थलमा समेत हेल्थ डेस्क स्थापना गरिएको छ । बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम समेत भइरहेको मन्त्रालयले जनाएको छ ।

अब नेपालले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधानअनुसार विश्व स्वास्थ्य संगठनलाई विस्तृत परिवतरणसहित जानकारी गराउनेछ ।

त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शंकास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।

त्यहाँबाट ज्वरोसहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरुमा अवलोकन, परीक्षण, उपचारका लागि लैजाने व्यवस्था भइसकेको छ मन्त्रालयले जानकारी दिएको छ ।

अब चीनबाट नेपाल आउने हरेक विमानमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।