मनोरञ्जन

के नेपालमा मिस वर्ल्ड आयोजना सम्भव छ ?

काठमाडौं । विश्व सुन्दरी टोनी एन सिंह अहिले नेपाल भ्रमणमा छिन् । उनी बिहीबार काठमाडौं आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयले उनलाई नेपाल आउने चाजोपाँजो मिलाएको हो ।

मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएसँगै नेपालमा यो मेघा इभेन्ट आयोजनाको सम्भावनाका विषयमा समेत चर्चा शुरु भएको छ ।

किनकी मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसमेत उनको साथमा छिन् ।

जमैकन सुन्दरी टोनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरेका थिए ।

नेपाल आएकै दिन उनीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भेटेका छन् ।
भेटमा मिस वर्ल्ड २०२० नेपालमा सम्भव छ की भन्ने विषयमा छलफल भएको बताइएको छ । यद्दपी यो प्रारम्भिक छलफल थियो ।

सरकारले समन्वय गर्ने र निजी क्षेत्रले आयोजना गर्ने मोडलमा प्रतियोगिता नेपालमा आयोजनाको सम्भावनाबारे छलफल गरिएको छ ।

मन्त्री भट्टराईले नेपालमा भेन्यू हेर्न, स्थानीय आयोजकसँग छलफल गर्न र उपयुक्त भए प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

विश्वभर चर्चा हुने सौन्दर्य प्रतियोगिता नेपालमा आयोनाको सम्भावना हेर्नकै लागि विश्व सुन्दरी आयोजना गर्ने संस्थाका प्रतिनिधि नेपाल आएको बताइएको छ ।

टोनीले तीन दिनको नेपाल बसाईको अवधिमा सिन्धुपाल्चोकस्थित सोलसिङ गाउँमा सञ्चालित स्वावलम्बन प्रोजेक्ट अवलोकन गर्नेछिन् ।

उनी आज प्रोजेक्टको अवलोकनमा जाने कार्यक्रम छ ।