स्वास्थ्य

औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने डर नेपालमा छ । यसले बजारमा अनावश्यक त्रास पनि फैलिएको छ । यसैसन्दर्भमा भारतले अत्यावश्यक औषधिको निर्यात रोकेको समाचार सार्वजनिक भयो ।

त्यसपछि बजारमा उपभोक्ताले औषधिसमेत अतिरिक्त किन्न थाले । त्यसपछि औषधि व्यवसायीले पत्रकार सम्मेलन नै गरेर त्यसो नगर्न सुझाव दिन परेको छ ।

नेपाल औषधि उत्पादक संघका अनुसार कोरोना भाइरस विश्‍वव्यापी बनिरहेका बेला आउन सक्ने सम्भावित संकटका क्रममा नेपालमा औषधि अभाव हुन दिइने छैन ।

नेपालमा जस्तो सुकै परिस्थिति आएपनि तीन महिनासम्म पुग्ने औषधि स्टकमा रहेको छ ।

त्यसपछी पनि औषधि उत्पादन गर्ने कक्चा पदार्थ पर्याप्त रहेको संघले उल्लेख गरेको छ ।

संघका महासचिव विप्लव अधिकारीका अनुसार भूकम्प र नाकाबन्दीका समयमा समेत अभाव नभएको औषधि अहिले होला की भनेर चिन्ता नलिन आग्रह गरे ।

नेपालमा एलोपेथिक औषधिका ६२ उद्योग सञ्‍चालनमा छन् । ४२ वटा उद्योग निर्माणाधीन अवस्थामा छन् ।

भारतले समेत नेपालमा निर्यात नरोक्ने बताइसकेको छ । यसअघि भारतले २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

तर, ती औषधि नेपालमा समेत उत्पादन सम्भव भएका औषधि हुन् ।

अहिले तीन महिनासम्मको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ म्याटेरिलय मौज्दात रहेको संघले उल्लेख गरेको छ ।

सरकारले भने बिपदमा मात्र औषधिको महत्व बुझ्ने गरेको भन्दै संघले गुनासो समेत गरेको छ।