स्वास्थ्य

कोरोना महामारी हो, तर नियन्त्रण सम्भव छ

काठमाडौं । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गर्यो । यस दौरान संगठनले केवल आतंकित हुनुमात्र नपर्ने भन्दै यो रोग नियन्त्रण समेत गर्न सम्भव रहेको उल्लेख गरेको छ ।

तर, यसका लागि हरेक मुलुकले उत्तिकै सचेतना र जागरुकता अपनाउनु पर्ने संगठनको भनाई छ । यो भाइरस चीनमा करीव नियन्त्रण उन्मुख छ । तर, अमेरिका र यूरोपमा  यो भाइरसको संक्रमण डरलाग्दो गरी फैलिएको छ ।

संगठनका अनुसार कोरोना भाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिएको छ । यसले बुुधबारसम्म ४ हजार ६ सय २७ जनाको ज्यान समेत लिइसकेको छ ।

विश्वभर संक्रमितको संख्या १ लाख २६ हजार रहेकोमा ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका कारण यो भाइरसको नियन्त्रण सम्भव रहेको संगठनको भनाई छ ।

यसका लागि हरेक सरकारको प्रतिवद्धताको आवश्यकता संगठनले उल्लेख गरेको छ । ५३ हजार २ सय २७ जनाको उपचार भइरहेको छ ।

संगठनका अनुसार ५ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको पाइएको छ । चीनमा ३१ सय ६९ जनाको मृत्यु भइसकेको छ । इटालीमा ८ सय २७ जनाको ज्यान गएको छ ।

इरानमा ३ सय ५४, दक्षिण कोरियामा ६०, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८, जापानमा १५, बेलायतमा ८, नेदरल्याण्डमा ५, स्विटजरल्याण्डमा ४, जर्मनी र बेल्जियममा ३\३ जनाको मृत्यु भएको तथ्यांक छ ।