विज्ञान प्रविधि

मेलम्चीमा सुरुङ मार्गमा पानी हालेर परीक्षण गरियो, आयोजना अन्तिम चरणमा

सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची आयोजनाको सुरुङ मार्गमा पानी हालेर परीक्षण सम्पन्न भएको छ ।

सोमबार खानेपानी मन्त्री बिना मगरसहित मेलम्ची विकास समितिका पदाधिकारी सोही प्रयोजनका लागि मेलम्ची पुगेका थिए ।

मेलम्चीको हेडवर्क्सबाट पानी हालेर सुरुङ मार्गको परीक्षण गरिएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

सोहीकारण संरचनाहरूको परीक्षण शुरु गरिएको हो ।

आयोजनाका अनुसार सुरुङ मार्गको परीक्षणका क्रममा हेडवर्क्सबाट अम्बाथानमा रहेको सुरुङ मार्गभित्र मेलम्चीको पानी हालेर परीक्षण सम्पन्न गरियो । सोमबार एक किलोमिटर लामो सुरुङ मार्गमा मेलम्चीको पानी पठाउँदा कुनै समस्या नदेखिएको आयोजनाले जनाएको छ ।

अहिले यो आयोजना सिनो हाइड्रोले निर्माण गरिएको छ । केही समय अवरुद्ध भएको आयोजनाले पछिल्ला दिनमा भने तिब्र गति पक्रिएको छ । सोमबार मेलम्ची पुगेकी खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न हुने अन्तिम चरणमा रहेकाले अब कुनै पनि हालतमा नरोकिने उल्लेख गरिन् ।

अब कुनै कारणले पनि आयोजना नरोकिने उनको भनाई छ । अब मेलम्ची आउँदैन कि भन्ने भ्रम तोडिएको भन्दै उनले काठमाडौंबासीले तोकिएकै समयमा मेलम्चीको पानी पिउन पाउने उल्लेख गरिन् ।

मुहानमा बन्ने हेडवर्क्स निर्माणमा फिनिसिङको काम जारी छ । मेलम्चीको पानी टनेलतर्फ फर्काउने यो मुख्य संरचनाको निर्माणको मूख्य संरचना बनिसकेको छ ।

सिनो हाइड्रोले आयोजनाको ठेक्का सम्झौताअनुसारको कामलाई पूर्णता दिन गेट निर्माण कार्य, भेन्टिलेसन साफ्टहरू, पाइप जडान, स्काडा प्रविधि जडानलगायत साना ठेक्काका काम पनि गरिरहेको उल्लेख गरेको छ ।