प्रकाशित: २०७४ कार्तिक ०९
सेयर बजारमा १३ वर्षपछि लघुवित्त कम्पनीहरुलाई अलग्याइँदै

Image
-samir

९ कात्तिक, काठमाडौं । आगामी साताबाट सेयर बजारमा १० वटा समूहगत परिसूचकहरु हुने भएका छन् । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नौ वटा समूहगत परिसूचक मात्र छन् । नयाँ समूहगत परिसूचकको रुपमा लघुवित्त समूह बन्ने भएको हो ।

 

‘विकास बैंकहरुको तुलनामा लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उच्च उतारचढाव देखिन्छ । लगानीकर्ताहरुले पनि यही कारण यी दुईको अलग-अलग परिसूचक हुनुपर्ने माग गर्दै आएका थिए,’ नेप्सेका प्रवक्ता मुरारी पराजुली भन्छन् ।

हाल बजारमा बैंकहरुतर्फ तीन वटा समूहगत परिसूचक छन्, वाणिज्य बैंकहरुको कारोबार मापन गर्ने बैंक, विकास बैंक र वित्त । हाल विकास बैंक समूहअन्तर्गत् नै लघुवित्त कम्पनीहरु सूचीकृत हुने गरेका छन् ।

यस्तै, बीमा, जलविद्युत्, होटेल, व्यापारमूलक कम्पनी र उत्पादनमुलक कम्पनीका अलग परिसूचक छन् ।

‘यो परिसूचक अलग्याउन हामीले नै सुझाव दिएका हौं, परिसूचक लागू गर्दा विवाद नआओस् भन्ने हाम्रो सोच हो,’ नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भन्छन् ।

बजारमा आधारभूत पक्षभन्दा लघुवित्त कम्पनीहरुको मूल्य निकै उच्च रहेकाले विकास बैंकसरह गणना गर्दा विकास बैंकहरुको वास्तविक अवस्था थाहा पाउन समस्या भएको गुनासो लगानीकर्ताहरुको थियो । लघुवित्त कम्पनीहरुको कार्य-सञ्चालन प्रकृति पनि फरक छ ।

‘सूचक घटबढ हुँदा लगानीकर्ताको मनोविज्ञानमा पनि फरक पर्छ, सबै कम्पनीको मूल्य घटबढमा यसले प्रभाव पार्ने हुन्छ,’ अर्याल भन्छन् । हुन त, कम्पनीहरुको सेयर मूल्य र संख्याकै आधारमा सूचकको गणना हुने भए पनि आधारभूत पक्षभन्दा सूचकलाई मात्र हेरेर लगानीकर्ताले निर्णय लिने अवस्था छ ।

पहिलो दिन लघुवित्तको कति हुन्छ सूचक ?

नेपालमा परिसूचक गणनामा सेयरको मूल्य र संख्या दुवैलाई आधार मान्ने चलन छ । यसलाई भारित औसतको आधार पनि भनिन्छ ।

आगामी दिनमा समूहमा बेमेल खालका कम्पनीहरुलाई अलग्याउने, कम्पनी वर्गीकरणमा समेत नयाँ रणनीति लिने र नेप्से परिसूचकलाई नै कारोबारमा ल्याउने योजना छ

यसका लागि सबै सूचीकृत कम्पनीको आजको सेयर मूल्य र संख्याको जोडलाई सूचक गणना हुँदाको दिनको सबै सूचीकृत कम्पनीको सेयर मूल्य र संख्याको जोडले भाग गर्ने तथा आधार दर एक सयले गुणन गरेर निकाल्ने गरिएको छ ।

समूहगत परिसूचकको गणना गर्दा पनि उही सूत्र लगाइन्छ । यसमा फरक के मात्रै हो भने सूचीकृत कम्पनीहरु छान्दा त्यही क्षेत्रका कम्पनीलाई मात्र छानिएको हुन्छ ।

अब लघुवित्त कम्पनीहरुको सेयरमापक सूचक निकाल्दा पनि यही सूत्र लागू हुने सम्भावना छ । यसमा आधार सूचकको रुपमा एक सय अंक लिने वा हाल कायम विकास बैंकको सूचक (बुधवारको १८८४) लिने भन्ने निर्णय हुन मात्रै बाँकी छ ।

एक सय अंक लिँदा लघुवित्त समूहको परिसूचक पनि एक सय अंक नै रहनेछ । किनभने, परिसूचक गणना सुरु गर्ने दिन नै आधार दिन हुने भएकाले सूचीकृत लघुवित्त कम्पनीहरुको सेयर संख्या र मूल्य एउटै हुनेछ । तसर्थ, सूत्रअनुसार यो भाग गर्दा भागफल एक आउँछ । आधार सूचक एक सय अंक लिइएमा त्यस दिनको सूचक पनि एक सय (भागफलबाट आएको एकलाई एक सयले गुणन गर्दा) नै आउँछ ।

तर, आधार सूचक विकास बैंक समूहको सूचक नै लिइएमा करिब १८८४ बाट लघुवित्तको सूचक सुरु हुने नेप्सेका प्राविधिक विभाग प्रमुख निरञ्जन नायक बताउँछन् । १८८४ नै राख्नुभन्दा शून्यमा (१८०० हुनेगरी) रहेर आधार सूचक राखिने सम्भावना धेरै छ ।

एक सयलाई आधार सूचक लिँदा विकास बैंक समूहको परिसूचकसरह लघुवित्त समूहको परिसूचक पुग्न निकै समय लाग्नेछ । तर, १८८४ बाट लिएमा दुवै परिसूचक समानस्तरबाट अगाडि बढ्नेछन् ।

सूचक लागू भएपछि लघुवित्त कम्पनीहरुको सेयर मूल्य र संख्यामा हुने परिवर्तनसंँगै लघुवित्त समूहको परिसूचकमा घटबढ हुँदै जानेछ । कम्पनीहरुको सेयर मूल्य बढ्दा परिसूचक पनि बढ्नेछ भने घट्दा घट्नेछ । त्यो समूहमा नयाँ कम्पनी थपिँदा कम्पनीहरुले बोनस सेयर र हकप्रद सेयर दिँदा सेयर संख्यामा फरक पर्दै जान्छ ।

यसकारण सुधार

नेप्से सञ्चालनमा आएको लगभग २१ वर्ष भयो । बजारमा एनआईडीसी डेभलपमेन्ट बैंक (तत्कालीन नेपाल औद्योगिक विकास निगम) विकास बैंकअन्तर्गत्को पहिलो सूचीकृत कम्पनी हो ।

तर, आव ०५९/६० बाट मात्रै विकास बैंक समूहको शुरुवात भयो । पहिलो वर्ष यो समूहमा चार वटा कम्पनी थिए । तीमध्ये बजारमा लघुवित्तबाट प्रतिनिधित्व गर्ने पहिलो कम्पनी निर्धन उत्थान विकास बैंक थियो । उक्त कम्पनी ११ वैशाख ०६० मा सूचीकृत भएको थियो ।

हाल बजारमा ३८ वटा विकास बैंक र ३३ वटा लघुवित्त कम्पनीहरु सूचीकृत छन् ।

‘यो सुधारको पहिलो शुरुवात हो, आगामी दिनमा समूहमा बेमेल खालका कम्पनीहरुलाई अलग्याउने, कम्पनी वर्गीकरणमा समेत नयाँ रणनीति लिने र नेप्से परिसूचकलाई नै कारोबारमा ल्याउने योजना हो,’ नेप्सेका प्रवक्ता पराजुली भन्छन् ।

हाल वित्त कम्पनीमा अलग प्रकृतिको नागरिक लगानी कोष मात्र होइन, ‘अन्य’ समूहमा बाँकी रहेका सबैखाले कम्पनी सूचीकृत छन् । यिनलाई पनि अलग्याउने रणनीति नेप्सेको छ । तर, नागरिक लगानी कोषका लागि छुट्टै समूह बनाउन यस्ता प्रकृतिका अन्य कम्पनी बजारमा नरहेकाले ‘अन्य’ समूहमा रहन्छ कि कुनै नयाँ बन्छ भन्न सकिँदैन ।

यस्तै, ‘अन्य’ समूहमा प्रविधि क्षेत्रको नेपाल टेलिकमसमेत छ । विदेशमा प्रविधि क्षेत्रका बहुसंख्यक कम्पनी सूचीकृत हुने भएकाले सूचक नै अलग्गै रहन्छ । नेपाल टेलिकम, एनसेललगायत प्रविधिमा आधारित कम्पनीहरुको पनि अलग्गै समूह निर्माणको गर्नुको विकल्प देखिँदैन ।