प्रकाशित: २०७४ कार्तिक ०९
अलैँचीको भाउ दशकयताकै कम

Image
-jagdish

तेह्रथुम – म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) रु २५ हजारको दरले खरिद गरे। अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रएका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन्। 

व्यवसायी ढकाल भन्छन्, “अलैँचीको भाउ झन् ओरालो लाग्दैछ, सुधार आउने कुनै छाँट–काँट छैन, नियमित ग्राहक भएकाले नयाँ उत्पादनको पाँच मन अलैँची यस वर्ष पहिलो पटक मैले खरिद गरेँ।” 

गत वर्ष यही याममा ढकालले नयाँ उत्पादनको अलैँची प्रतिमन रु ८० का हजारले खरिद–बिक्री गर्नुभएको थियो । तर अहिले अलैँचीको मूल्य झण्डै तेब्बरले घटेको छ। 

गत वर्ष प्रतिकिलो रु दुई हजार पाँच सयका दरले खरिद गरेको अलैँची अहिले प्रतिकिलो रु ६५० मा झरेको छ। पछिल्लो समय किसानको प्रतिष्ठासँग समेत जोडेर हेर्ने गरिएको अलैँचीको मूल्य घटेपछि नयाँ फसलको कारोबारसमेत बजारमा सुस्त छ। साना व्यापारीले अलैँचीको कारोबार गर्न मानेका छैनन्। 

“विसं २०६५ मा प्रतिमन रु ३० हजारका दरले अलैँची खरिद–बिक्री भएको थियो”, सक्रान्तिका अलैँची व्यापारी दीपेश सिटौलाले भने, “अलैँचीको मूल्यमा ह्वात्तै आएको कमीले किसान मात्र हैन, व्यापारी पनि पीडित भएका छौँ।” 

आफुले रु ८० हजार प्रतिमनका दरले खरिद गरेको करिब ५० मन अलैँची अहिलेसम्म गोदाममै थन्किएको म्याङलुङ्गका व्यापारी ढकाल बताउँछन्। विगत वर्षमा दशैँ–तिहार जस्ता चाडबाडको मुखमा नयाँ फसलको करिब ४० प्रतिशत कारोबार भइसक्थ्यो। तर यस वर्ष कारोबारको शुरुवातै नभएको व्यापारी बताउँछन्। 

चाडबाडको समय सम्ममा अलैँचीको मूल्यमा सुधार होला भन्ने आशा गरेका किसान मूल्य झन् ओरालो लागेपछि निराश भएका छन्। मूल्य घटेपछि अलैँची खेतीमा लागेका किसान निराश भएका छन् । व्यवसायीका अनुसार विगत केही वर्ष अलैँचीको उत्पादनमा अत्यधिक ह्रास आएको थियो। उत्पादन घटे पनि व्यवसायीले अलैँची मौज्दात राखेका थिए। 

बजारमा अलैँचीको कृत्रिम अभाव भएपछि मूल्य ह्वात्तै बढ्यो । गत वर्षदेखि अलैँचीको उत्पादनमा वृद्धि भयो। उत्पादन वृद्धि भएको र मौज्दात राखेको अलैँची एकैसाथ बिक्री गर्न खोजिएकाले अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य खस्किएको हो। 

“बजारको मागभन्दा उत्पादन बढी भएकाले अलैँचीको मूल्यमा भारी गिरावट आएको हो”, अलैँची व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले भने। पुर्वका पहाडी जिल्ला तेह्रथुम, ताप्लेजुङ, पाँचथर, संखुवासभासहित देशका ४० जिल्लामा अलैँची उत्पादन हुन्छ। यी जिल्लाबाट वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी अलैँची विदेश निर्यात हुन्छ। 

अलैँची व्यवसायी महासङ्घका अनुसार यसको निर्यातबाट वार्षिक रु ६ अर्ब नेपाल भित्रिने गरेको छ। यसमध्ये रु पाँच अर्ब बढी किसानको हातमा पुग्छ । नेपालबाट ९९ प्रतिशत अलैँची भारतीय बजारमा निर्यात हुन्छ। भारतले नेपालमा उत्पादन भएको अलैँची गुणस्तरहीन भन्दै दोष लगाएपछि यहाँ उत्पादित अलैँचीले मूल्य गुमाएको व्यवसायी बताउँछन्। 

व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष नेपाल आफूहरुकै हेलचेक्र्याइँले समस्या आएको बताउँछन्। जस्तोसुकै अलैँची उत्पादन गरे पनि बिक्छ भन्ने मानसिकता किसानको भएकाले पनि मूल्यमा गिरावट आएको नेपालको भनाइ छ। अलैँचीको मूल्य आकाशिएपछि मिसावट गर्ने र तौल बढाउन राम्ररी नसुकाउनेलगायत कारण अलैँचीको गुणस्तर खस्किएको हो। 

अलैँचीको मुख्य बजार झापाको बिर्तामोड हो। अलैँचीका ठूला व्यापारी पनि यही केन्द्रित छन्। अलैँची व्यवसायी महासङ्घको केन्द्रीय कार्यालय पनि विर्तामोडमै रहेको छ। अधिकांश जिल्लाको अलैँची बिर्तामोडमा संकलन भएर विदेश निर्र्यात हुने गरेको छ। तेह्रथुमबाट मात्र वार्षिक करोडौँ रुपैयाँको अलैँची विदेश निर्यात हुने गरेको छ। 

आव २०७३÷७४ मा जिल्लाबाट रु ३१ करोड ३७ लाख बराबरको २५० मेट्रिक टन अलैँची निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए।  प्रकाश धौलाकोटी/ रासस