प्रकाशित: २०७४ कार्तिक ०९
अब के हुन्छ ?

Image
-samir

इस्टर्न मेडिटेरियन र एसिया माइनर हुँदै नेपाल पसेको ब्रो–काउली (ब्रोकोली) जस्तै नवागन्तुक छन्, तराईका कतिपय नेता । विभिन्न दलमा फुत्त उम्रिएका कैयन् नेताहरू एनजिओ र आइएनजिओबाट आएका छन्। उनीहरूको कुनै राजनीतिक संस्कार छैन । जुन देशले लगानी गरेको छ, त्यही देशको भावनाको प्रचार गरिरहेका छन्, उनीहरू। विदेशीको एजेन्डा बोकेर हिँडेका छन् । त्यसैले भोलि के हुन्छ भन्ने कुरा ठूला राजनीतिक दलहरूलाई पनि थाहा छैन । किनभने ती दलका नेताहरूलाई आदेश निर्देश दिने शक्ति बाहिरै छन्। 

ब्रोकाउली पाँचतारे होटलमा पुगेझैँ आज कैयन् नेताहरू जनसमर्थन नभए पनि संसद् र सरकारमा पुगेका छन् । जनाधार कमजोर भए पनि आफूलाई ‘डफ्फादार’ ठान्छन् उनीहरू । अहिलेको राजनीति बाह्यशक्तिको हस्तक्षेपबाट झन् आक्रान्त हुँदै गएको छ । यो कुरा सबैले स्वीकारे पनि सशक्त प्रतिवाद गर्ने क्षमता कुनै पनि राजनीतिक दलसँग देखिँदैन । 
रोममा सन् ३३७ मा पहिलोपल्ट जिसस क्राइस्टको जन्म दिन मनाइयो, डिसेम्बर २५ अर्थात् क्रिसमस पर्वका रूपमा । त्योभन्दा पहिले संसारमा न इसाई थिए, न उनीहरूका कुनै देवता । पूर्वीय गोलाद्र्धमा सनातन कालदेखि धर्म र संस्कृतिले जरो गाडेको छ । नेपाल हिन्दू, बौद्ध, बोन, शैवलगायत सम्पूर्ण संस्कृतिको आदिम थलो हो। 

हिजो अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धा थियो भने भविष्यमा चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । रणनीतिक दृष्टिले नेपाल चीन र भारतबीच अत्यन्त संवेदनशील अवस्थामा छ र आउँदा दिनमा काठमाडौँ अर्को काबुल बन्ने सम्भावना देखिँदै छ।

तराईको सभ्यता राजा जनक र बुद्धभन्दा हजारौँ वर्ष पुरानो मानिन्छ । तर गणतन्त्र घोषणापछि छिचिमिराझैँ फुत्त निस्किए धर्मनिरपेक्षता र कथित मधेसवादका व्याख्याकारहरू । उनीहरू आज इतिहासको अपव्याख्या गर्दैछन् । २०१५ सालमा संसद्को चुनावमा सर्वाधिक मत पाउने काशीप्रसाद श्रीवास्तव र तराई कांग्रेसका संस्थापक नेता वेदानन्द झाले पनि छुट्टै ‘मधेस राज्य’ मागेका थिएनन् । ‘एक मधेस एक प्रदेश’ दिल्लीको प्रस्ताव हो भने आज अधिकांश दलले बोकेका एजेन्डा विदेशीकै हुन्। 

गाँजाको बोटबाट निस्किने रेसाबाट बन्थ्यो, क्यान्भास । क्यानाबिसबाट बन्यो क्यान्भास शब्द । नेसन (राष्ट्र) शब्दबाट नेसनालिटी र नेसनालिज्म (राष्ट्रवाद) शब्द बन्यो । मधेसवाद, जातिवाद, गान्धीवाद, माक्र्सवाद, माओवाद आदि भनेको पनि राष्ट्रवाद नै हो भन्नेहरूले बुझ्नुपर्छ, बन्दाकोपी र ल्याप्रस्कोपीको मिक्स भेजिटेवल कस्तो हुन्छ ? ‘मेन्टल’ रोगीले ‘फन्डामेन्टल’ बुझ्न सक्दैनन् । त्यस्तै राष्ट्रवादको अपव्याख्या गर्नेहरूले पनि अन्य वादहरूसँग त्यसको तुलना गर्नु हुँदैन । 
लियोनिद् ब्रेझनेभ निकिता ख्रुश्चेभका सहयोगी थिए । सन् १९४३ मा मेजर जनरल बनेका ब्रेझनेभ सर्वेसर्वा बनेर राष्ट्र हाँक्न चाहन्थे । सन् १९६४ मा उनले सोभियत कम्युनिस्ट पार्टीका सर्वसत्तावादी नेता खु्रश्चेभविरुद्ध बलियो गुट बनाएर उनलाई अपदस्थ गरे । ‘वार्सा प्याक्ट’ उनकै अवधारणा हो । सन् १९६६ देखि १९८२ सम्म पार्टीको महासचिव भए ब्रेझनेभ । तर उनले अधिनायकवाद त्याग्न सकेनन्। 

लेनिनको पालादेखि अर्थात् सन् १९१७ देखि नै सोभियत संघमा साम्यवाद र अधिनायकवाद एउटै सिक्काका दुईटा पाटा जस्ता देखिए । पूर्वी युरोपका पोल्यान्ड, चेकोस्लोभाकिया, पूर्वी जर्मनी, हंगेरी, रोमेनिया, अल्वानिया आदि देशमा सोभियत प्रभाव बढाउन अधिनायकवादीलाई नै क्रेमलिनले आफ्ना प्रतिनिधि बनाएर राख्यो । अमेरिकी प्रभाव कमजोर बनाउन कम्युनिस्ट शासकहरूले धेरै प्रयोग गरेपछि अमेरिकाले पनि साम्यवादी प्रभाव रोक्न हरेक वर्ष करोडौँ डलर खर्च गरिरह्यो। 

हिजो अमेरिका र सोभियत संघबीच प्रतिस्पर्धा थियो भने भविष्यमा चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । रणनीतिक दृष्टिले नेपाल चीन र भारतबीच अत्यन्त संवेदनशील अवस्थामा छ र आउँदा दिनहरूमा काठमाडौँ अर्को काबुल बन्ने सम्भावना देखिँदै गएको छ। 

अधिनायकवाद र साम्यवाद भनेको अर्ना र राँगो जस्तै हुन् । दुवै तानाशाही नै हुन् । उदारता, स्वतन्त्रता, सामाजिक न्याय, प्रजातन्त्र र परम्परागत धर्मसंस्कृतिको रक्षाभन्दा आफू शक्तिशाली बन्ने प्रबल चाहना हुन्छ, त्यहाँ । स्टालिन, लेनिन, माओ, ब्रेझनेभ, खु्रश्चेभ, चाउचेस्कु, फिडेल क्यास्त्रो आदिको चरित्र मुसोलिनी वा इदी अमिनको भन्दा पृथक् थिएन । फरक मत राख्नेहरूलाई निर्मूल पार्न चाहन्थे उनीहरू । त्यो रोग नेपालका गैरकम्युनिस्टहरूमा पनि सरेको छ । 
सत्ताको बिछ्यौनामा सँगै सुतेपछि कांग्रेस–कम्युनिस्ट र पुराना राजतन्त्रवादी सबैमा त्यस्तो ‘सिफिलिस’ सल्किएको छ । त्यसैले उनीहरूको छुट्टै चरित्र देखिँदैन । अहिले देखिएको राजनीतिक गठबन्धन नैतिकता, सिद्धान्त र आदर्शमा आधारित नभएर सत्तास्वार्थमा मात्रै केन्द्रित भएको देखिन्छ । यो राजनीतिक वेश्यावृत्ति जस्तै अत्यन्त कुरूप हुँदै गएको छ। 

मध्यरातमै एउटा शिविरबाट अर्कोतिर पोइल गइरहेका छन् कथित राजनीतिज्ञहरू । पदका निम्ति ‘गिलो जति सबै हलुवा’ हुन्छ भनेर कुतर्क गर्नेहरू पनि छन् । आफू सत्तामा नजाँदा आकाश नै खस्छ भनेर प्रचार गर्नेहरू पनि छन् । चुनाव नहुँदा गणतन्त्र नै  संकटमा पर्छ भनेर ‘राजतन्त्रवादी’ भन्ने प्रवञ्चकहरूको बथान सत्तामा गएको छ । भोलि सत्ताबाट हट्नुपर्दा उसले गणतन्त्र बचाउन सत्ता त्यागेको तर्क गर्न सक्छ। 

शंकराचार्यले भोकै मर्न लागे भने गाईको मासुबाट बनेको छोइला–कचिला खालान् ? मुसलमानका इमाम र मुल्लाहहरूले सँुगुर चपाउलान् ? मासु त हो नि भनेर तराई, पहाड र हिमालका वासिन्दाले कुकुरको सेकुवा कुपुकुपु खालान् ? इमान, नैतिकता, सदाचार र सिद्धान्त त्यागेर सत्ता मात्र ताक्ने ‘पावरमेनिया’ रोगले ग्रस्त छन् धेरै दलहरू । त्यसैले नेपाली राजनीतिमा शुद्धीकरण आउला भन्ने आशा गर्नु पनि व्यर्थ हुँदै गएको छ। 

१९ वर्ष राष्ट्राध्यक्ष भएर जर्मनीलाई सुदृढ, सुगठित, सुरक्षित र सम्पन्न बनाए बिस्मार्कले । सांसद, राजदूत, परराष्ट्रमन्त्री र प्रधानमन्त्री हुँदै उनले एकदिन राष्ट्र हाँक्ने र ‘जर्मन चान्सलर’ बनेर राष्ट्रको एकीकरण गर्ने सपना देखेका थिए । डेनमार्कले हेपिरहन्थ्यो जर्मनीलाई । बेलाबेवखत सताइरहन्थ्यो । सन् १८६४ मा उनले डेनमार्कविरुद्ध युद्धको ऐलान गरे । विजयी भए उनी । फ्रान्ससँगको सात हप्ते लडाइँ पनि जिते । त्यसपछि जनताले उनलाई लौह राष्ट्रनायक (आइरन चान्सलर) भन्न थाले । ‘वीर भोग्या वसुन्धरा’ भनेको यही हो । दुर्भाग्यको कुरा, अटोफन बिस्मार्कले निर्माण गरेको जर्मन साम्राज्य उनको पदावधिपछि पुनः टुक्राटुक्रा भयो र युरोपको मानचित्र नै परिवर्तन भयो। 

चीनमा हान राजवंशका पालामा कुकुर पाल्ने चलन बढ्दै गयो । सन् २२० तिर घरको रक्षाका लागि पालिएका ‘चो– चो’ जातका बढीमा बीस इन्च मात्र उचाइका ती फुच्चे कुकुरलाई ‘चो–चो’ नै भनेर बोलाइन्थ्यो । सम्भवतः सयौँ वर्षअघि चीनसँग युद्ध गर्न गएका नेपाली सैनिकले त्यस्तो जातका कुकुर ल्याए । त्यसैले आज पनि पूर्वी नेपालका ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, खोटाङ, इलामलगायतका इलाकामा कुकुरलाई डाक्दा ‘चोई–चोई’ वा ‘चेइ–चेइ’ भनिन्छ । नेपालीमा त्यसको स्पष्ट अर्थ पाइँदैन। 

ब्रिटिसले बिदा हुने बेलामा ‘टाटा’ र अमेरिकनले हात हल्लाउँदै ‘बा–बाई’ (बाईबाई) भन्छन् । आफूलाई जान्नेसुन्ने ठान्ने नेपालीले स–साना छोराछोरीलाई एकैपल्ट ‘टाटा–बाईबाई’ भन्न सिकाए । अहिले गणतन्त्रको व्याख्या त्यसरी नै गरिँदै छ । कतिले त छोराको नाम प्रेमबहादुर छ भने पिटर बनाएका छन् । जगत्बहादुरलाई जुपिटर बनाए । रुक्मिणी भई रोजलिन । मनमाया बनेकी छ मार्था । आफ्नो खुर्किंदै अरूको टाँस्ने काम भयो, संविधानमै पनि । नेपालको संविधान ‘सक्रिय’ गराउन राष्ट्रिय एकताका आधार भत्काउनैपर्ने, घरघरमा विखण्डन ल्याउने र हाम्रो सभ्यता र संस्कारलाई धुलिसात् बनाउने कृत्यहरू भइरहेका छन् । त्यसैले भविष्यप्रति ढुक्क हुन सक्ने आधार देखिँदैन। 

राजा त्रिभुवनका सचिव र विश्वासपात्र थिए, दयारामभक्त माथेमा । २०६५ कात्तिक १३ गते म्हपूजाकै दिन ८१ वर्षको उमेरमा बिते उनी । ‘अनुभव र अनुभूति’ नामक उनको आत्मवृत्तान्तमा चीन गएको नेपाली प्रतिनिधिमण्डलसँग कुरा गर्दै त्यहाँका नेता माओले बोलेका केही घतलाग्दा वाक्य छन् । नेपालीहरूलाई स्वागत गर्दै माओले भनेका छन्, “एटम बमले हामीलाई जित्न सक्दैन । मुख्य कुरा जनतामा राष्ट्रिय भावना र नैतिकता बलियो हुनुपर्छ ।’ (पृष्ठ २५३)
दुर्भाग्य, नेपालका माओवादीले डकैती, हत्या, लुटलगायतका जघन्य अपराध गर्न सिके । तर राष्ट्रिय भावना र नैतिकताको कखरा पनि सिकेनन् । यस्तो अनैतिक, भ्रष्ट र अपराधी समूहलाई काखी च्यापेर आ–आफ्नो राजनीतिक भविष्य बचाउन खोज्ने हिजो, आज र भोलिका सहयात्री दलहरूले इतिहासलाई के जवाफ देलान् ? माओवादीलाई काखमा राखेर हिजो नेपाली कांग्रेसले चुम्बन र आलिंगन ग¥यो, आज वामगठवन्धनको नाममा त्यही दृश्य देखिएको छ । आफूलाई ‘राजावादी’ (?) भन्नेहरूले माओवादीकै नेतृत्वमा सत्ताको स्वाद लिए । कांग्रेसका लागि २०६२÷०६३ सालदेखि माओवादी परम गणतान्त्रिक मित्र थियो, भोलि पनि हुन सक्छ । तसर्थ ‘अब के हुन्छ ?’ भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा प्राकृतिक, अप्राकृतिक, समलिंगी, विपरीत लिंगी र सबै खालका घिनलाग्दा समागम हेर्न जनता बाध्य हुनेछन् । सञ्चारमाध्यमले पनि आ–आफ्ना दलका डम्फू बजाइरहेछन् र सत्य बोल्नेहरू ‘एक्लो वृहस्पति झुटो’ साबित भइरहने अवस्था आउने देखिन्छ।

घरबारविहीन गोठालोलाई किनेर चाणक्यले तक्षशीलास्थित गुरुकुलमा पठाए । (हाल सो क्षेत्र पाकिस्तानको इस्लामावाद नजिकै पर्छ) सैनिक रणनीति, राजनीति, कूटनीति, धर्म, सदाचार, साहित्य, न्यायशास्त्र आदि सम्पूर्ण राजोचित विद्या सिकाइयो, ती बालकलाई । नन्द राजवंशलाई धराशयी बनाएर एकदिन ती बालक मगध राज्यको सम्राट् बने । चन्द्रगुप्त मौर्यका नामले देश–देशान्तरमा प्रसिद्ध भए, उनी । सुसंस्कृत, शिक्षित र दूरद्रष्टा विद्वान् ब्राह्मण चाणक्य (कौटिल्य) को संरक्षणमा हुर्किएका चन्द्रगुप्तलाई काबुलदेखि पाटलीपुत्र (पटना) तथा दक्षिणमा विन्ध्याचल क्षेत्रसम्मका जनताले सम्मान गरे । त्यसैले रहरले शक्ति आर्जन हुँदैन । शक्ति प्राप्त गर्न अहर्निश यत्न, साधना, सक्रियता र त्याग चाहिन्छ । योग्यता चिन्ने योग्यता र सक्षम मानिसहरूको साथ चाहिन्छ । दाद, लुतो, खुजली र घिनलाग्दा रोगीहरूको घेरामा बसेर शक्ति आर्जन गर्न सकिँदैन। 

राजनीतिमा शुद्धीकरण नआएसम्म लाखौँ मानिसले कृत्रिम शक्ति र सिद्धान्तको परिक्रमा गरेर राष्ट्र समृद्ध, सक्षम, स्थिर तथा सुदृढ बन्न सक्दैन । जबसम्म राष्ट्रले स्पष्ट मूलनीति बनाएर त्यसको जिम्मा सक्षम नेताहरूलाई दिने वातावरण सिर्जना हुँदैन, तबसम्म हामीले जतिसुकै पूजा आराधना गरे पनि पुराना रोग र विकृतिबाट मुक्ति पाउने सम्भावना रहँदैन।