प्रकाशित: २०७४ मंसिर ११
आठ नगरपालिकाले पाउने भए १५ अर्ब

Image

-विश्व न्यूज संबाददाता

मंसिर ११ । एसियाली विकास बैकले विभिन्न आठ वटा नगरपालिकाको शहरी विकासका लागि १५ अरब ४० करोड नेपाली रुपैया ऋण सहायता गर्ने भएको छ ।

विरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी , गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी विकासका लागि एसियाली विकास बैकले ऋण सहायता उपलब्ध गराउन लागेको हो ।

अर्थमन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी र एसियाली विकास बैकका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एसियाली विकास बैकले उपलब्ध गराउने ऋण सहायता रकमको आठ बर्ष सम्म १ प्रतिशत र त्यसपछि १ दशमलब ५ प्रतिशत व्याज नेपालले तिर्नुपर्ने छ ।

मुख्य गरि यो आयोजना लागु हुने नगरपालिकाहरुमा आवश्यकता अनुसार बाढी नियन्त्रण र रोकथामका संरचना, २ सय किलोमिटर बढी ढल निकास, २ सय ४० किलोमिटर सडक निर्माण, ४० किलोमिटर फुटपाथ, ४ वटा ल्याण्डफिल्ड साईट बन्ने अर्थ सचिव शंकर प्रसाद अधिकारीले जानकारी दिएका छन् ।

दिगो शहरी विकासका लागि उपलब्ध गराउने भनिएको ऋण सहायताले नगरपालिकाको क्षमता अभिवृद्धि र जलवायु परिर्वतनसंग अनुकुलन हुने कार्यक्रम समेत गरिने छ । यो आयोजना शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा रहेर ३१ डिसेम्बर २०२२ भित्र सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ ।