प्रकाशित: २०७४ कार्तिक २१
एनआरएनए नर्वेद्वारा धुर्मुस−सुन्तली फाउण्डेसनलाई सहयोग

Image
-Krishna Prasad Bhattarai
नर्वे । गैरआवासीय नेपाली संघ ९एनआरएनए० नर्वेले  एकीकृत नमूना वस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनलार्इ सहयोग गरेको छ ।
कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८० रूपैयाँ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसीसी बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् ।
उक्त रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित सन्तपुरमा रहेका ४७ बाढीपीडत परिवारहरुका लागि निर्माण गरिने एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ ।
एकीकृत वस्तीको निर्माण लागत करीव ६ करोड रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए ।
अरुको घर बनाइदिने दौडधूपमा यतिबेला आफ्नै घर बिर्सिएका छन्, धुर्मुसले । घर बिर्सनुको कारण हो समयमा घर निर्माण गर्नु अनि हस्तान्तरण गर्नु । तर पछिल्ला अभियानमा जुन तत्परताका साथ अरुले सहयोगी हात बढाएका थिए त्यो अनुपात सहयोग जुट्न सकेको छैन तैपनि विदेशमा पसिना चुहाई रहेका मनकारी नेपालीहरुले भने धेरथोर सहयोग जुटाई रहेका छन् । त्यसो त एनआरएनए स्वयंले पनि बस्ती निर्माण गर्ने घोषणा गरेको थियो । 
धुर्मुससँग बस्ती निर्माणका लागि पर्याप्त पैसा छैन । नियमित आम्दानीको स्रोत पनि छैन । सरकारको भरथेक छँदैछैन । उनी जुन उत्साहका साथ बस्ती निर्माणमा पसिना चुहाइरहेका छन्, त्यस अनुरुप पुग्दो पैसा उठेको छैन ।
उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि व्यक्त गरे ।
संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने विश्वास दिलाएका थिए ।