प्रकाशित: २०७४ मंसिर १९
नेपाली समाज टेक्ससमा सदस्यता भन्दा पदकै पिर

Image

-विश्व न्यूज संबाददाता

टेक्सस, ५ डिसेम्बर ।

नेपाली समाज टेक्ससको आगामी नेतृत्वको चर्चा  भैरहदा सदस्यताको काम भने सुस्त देखिएको छ । संस्थाको सबैभन्दा महत्वको विषय नया सदस्य थप्ने र भएका सदस्यको नविकरणको काममा भने सुस्तता देखिएको हो ।  सदस्यहरुको सक्रियता र सहभागिताबाट संस्था बलियो हुने भएपनि  त्यो काम भने प्राथमिकतामा पर्न नसकेको  देखिएको छ । २ वर्ष अघिको चुनावको समयमा २ हजार ४ सय ४४ सदस्य रहेको समाजमा अहिले आधिकारिक रुपमा  ५४ जना ( मंगलवार १० वजेसम्म) ले सदस्यता लिएका छन् । संस्थाकै केही पदाधिकारी कार्यसमिति सदस्य, पुर्व पदाधिकारी, समुदायमा चिनिएकाहरुले समेत नविकरण नगरेको अवस्था छ । हुनत: डिसेम्वर १६ सम्म सदस्यता लिन र नविरकण गर्ने समय राखिएको छ । तर अहिलेको अवस्थालाई हेर्दा सदस्य संख्या निकै कम हुने देखिएको छ । 
फेरि पनि मतदान लक्षित गरेर सदस्यता बनाउने अवस्था आउने देखिएको छ । चुनावको मिति डिसेम्वर २३ मा राखिएको छ । चुनावमा मतको जोड घटाउ गर्न पर्ने अवस्था आए त्यसलाई नै आधार मानेर सदस्य वनाउन आकांक्षीहरु कस्सिने विगतको परम्पराले यस पटक पनि निरन्तरता पाउने देखिएको छ । नेपाली सम्वद्ध संघ संस्थामा सदस्यहरु उम्मेद्वारले बनाइदिनुपर्ने वातावरणको असर नेपाली समाज टेक्ससमा पनि रहेको यसले संकेत गरेको छ । यो अवस्था हो भने यदि सर्वसम्मती भएको खण्डमा सदस्य संख्या निकैं कम हुने निश्चित रहेको छ । 
समाजकै अग्रजहरुले समेत नविकरण नगरेको अहिलेको अवस्थालाई हेर्दा सदस्य वनाउने विषय गलत दिशाबाट अघि वढेको मान्न सकिन्छ । सदस्यता बन्न भन्दा बनाउने तर्फको विगतदेखिकै अभ्यासले अहिले पनि निरन्तरता पाउने निश्चित छ । हुनत: गत चुनावमा अत्यधिक सदस्य थपिएका थिए । त्यो भन्दा अघिको कार्यकालसम्म ७० जना सदस्य रहेकोमा गत चुनावमा २ हजार ४ सय ४४ सदस्य बनेका थिए । 
सदस्यताको काम ढिलो गतीमा भएको छ । अध्यक्ष कृष्ण लामिछानेले भने यो हामी सबैंको सामुहिक पहलमा मात्रै हुन सक्दछ । उनले उम्मेद्वारका आंकाक्षीहरुलाई अझ बढी सक्रियता देखाउन अनुरोध समेत गरे । 
त्यस्तै समाजका उपाध्यक्ष एवं अध्यक्ष पदमा उठ्ने चर्चामा रहेका कमल सापकोटाले पनि सदस्यताको कामलाई पहिलो प्राथमिकता दिन सबैंमा आग्रह गरे । मैले पर्सनल रुपमा पनि धेरैलाई आग्रह गरेको छु । अन्तिम समय पर्खिने होइन, अहिले नै बन्नुहोस् भनेर धेरैंलाई अनुरोध गरेको छु । बन्छु पनि भन्नुभएको छ । उनले भने हामीले यो मामिलामा संस्कार सही गराउन सकेनौं, समाजको सदस्य किन बन्ने भन्ने कुरानै वुझाउनुपर्ने खाचो छ । चुनावमा को आउछ त्यही अनुसार सदस्य बन्ने कुरा भन्दा सदस्य नै प्रधान विषय हो भन्ने बताउन सक्नुपर्दछ । 
त्यसो त उनी उम्मेद्वारको कारणले सदस्य संख्या बढाउन भुमिका खेल्न सक्छ भने आकांक्षीहरुलाई छिटो उम्मेद्वारी दर्ता गरेर सदस्यता बढाउन तर्फ लाग्न आग्रह गर्छन् । 
समाजका महासचिव कमल सत्यालले यस क्षेत्र वर पर रहनुहुने नेपालीहरुलाई सदस्य बन्न आग््रह गरे । हामीले २ वर्षमा गरेको काम हेरेर पनि तपाईहरुले मुल्याकंन गर्न सक्नुपर्दछ । समाजको नेतृत्वमा को हुन्छ हुदैंन यो एउटा प्रक्रिया मात्रै हो । उनले भने समाज हामी सबैंको हो, समाजले हाम्रैं लागि गर्छ भन्ने कुरा वुझेर सदस्यता लिन म सबैंलाई अनुरोध गर्दछु । 
नेपालीको जनघनत्व वढिरहेको यस क्षेत्रमा सदस्य बनाउन गाह्रो हुन नपर्ने भएपनि यस्तो किन भैरहेको छ र यसलाई कसरी कम गर्न सकिन्छ त्यसतर्फ हामी सबैंले सोच्नुपर्ने उनले जनाए । 
यसो त डलास फोर्टवर्थ वरपर मात्रै नेपाली सम्वद्ध झण्डै ३ दजर्न संघ संस्थाहरु रहेका छन् । उनीहरुले नेपाली समाज टेक्ससलाई छाता संस्था मानेको बताइरहेपनि त्यो साझा संस्थाको सदस्यता बढाउने तर्फ भने खास भुमिका नखेलेको देखिएको छ । जनसम्पर्क समिति बाहेक अहिले सम्म आधिकारिक रुपमा समाजको सदस्य बन्न भनी अन्य संस्थाले आग्रह समेत गरेका छैनन् । 
टेक्ससमा वसोवास गर्ने वा टेक्सस राज्यको परिचय पत्र वाहक नेपाली सदस्य बन्न सक्ने समाजमा खास सदस्य भने डलास फोर्ट वर्थकै रहेका छन् । टेक्ससमा डलास, ह्युष्टन, अष्टिन, सानआन्टिनियो, लुवक, वाको लगायत साना ठुला झण्डैं दुई दर्जन वढी शहर वरपर नेपालीको वसोवास रहेको छ ।