प्रकाशित: २०७४ कार्तिक २१
हाकिमका प्यारा, जनता भन्छन् हत्यारा

Image
-Krishna Prasad Bhattarai

दसैंको उल्लास । टीका, जमरा र नयाँ लुगा लगाएर पिङ खेल्न जाने तयारीमा थिए, झापा अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटी । बुबा बद्रीप्रसाद र आमा अञ्जना शिवाकोटी बिहानैदेखि घरायसी काममा व्यस्त थिए ।

लक्ष्मण घरनजिकै फुपूको घरमा गए । घरमा छोरो कता गयो भन्ने पिरलोमा अभिभावक परिरहे । दिनभर खोजे अभिभावकले । अहँ, कतै पत्ता लागेन । फुपूको छोरा मनीष थापासँग गएका लक्ष्मण शिवाकोटी अब कहिल्यै फर्किने छैनन् । टीकाको दिन घरबाट निस्किएका लक्ष्मण भोलिपल्ट एउटा दहमा मृत फेला परे ।

फुपूका छोरा मनीष र लक्ष्मणको उमेर बराबरी नै हो । ११ वर्षका बालकद्वय मनीष र लक्ष्मणलाई दसैँको उल्लासले राम्रैसँग हौस्याएको थियो । यी दुवै बालक अझै खुशी थप्न मनीषलाई उनका बुबाले विदेशबाट पठाइदिएको जुत्ता तथा अन्य सामग्री लिन आफन्त पर्ने बिर्तामोड–५ स्थित पोखरेल परिवारको घरमा पुगे । ११ वर्षका बालक लक्ष्मण टीकाको दिन त्यहीँबाट बेपत्ता भएका हुन् ।

टीकाको भोलिपल्ट करिब दुई–अढाई किलोमिटर टाढा बैसाबाडीस्थित एउटा दहमा लक्ष्मणको शव चोटैचोट लागेको अवस्थामा भेटियो ।

अर्जुनधारास्थित हिमाली बोर्डिङ स्कुलको कक्षा–४ मा अध्ययनरत लक्ष्मण उक्त दिन कालो हाफपेन्ट, नीलो भेस्ट र चप्पलमा घरबाट निस्किएका थिए । लक्ष्मण नफर्किएपछि कुनै दुर्घटना परेर अस्पतालमा लगियो कि भनी आफन्तले बिर्तामोडका सबै अस्पताल चहारे । तर, लक्ष्मण असोज १५ गते आइतबार बिहान चारपानेको ठाकुर मन्दिरदेखि २ सय मीटर पूर्वको खाडीमा मृत फेला पर्दा सबै आश्चर्यमा परे । शव देख्नेहरूले नियोजित हत्या भएको दाबी गर्दै आएका छन् ।

शिवाकोटी परिवारले लक्ष्मणको मृत्यु आकस्मिक घटना नभई कर्तव्य भएको दाबी गर्दै आएको छ । मृतक लक्ष्मणका बुबाआमा दुवै जना सुस्त मनस्थितिका छन् । बालकको मृत्यु भएपछि पीडित परिवार र स्थानीयबासीले न्याय माग्दै पटक–पटक प्रहरी कार्यालय घेराउ गरे । तर, प्रहरीले कसैको कुरा सुनेन । लक्ष्मण पढ्ने विद्यालयका विद्यार्थी पनि सडकमा उत्रिएर धर्ना दिए । उनीहरूको पनि केही लागेन ।

एघार वर्षीय बालक लक्ष्मणको मृत्यु भएको लामो समय बित्दा पनि इलाका प्रहरी कार्यालय बिर्तामोडका तत्कालीन डिएसपी राजकुमार सिलवालले आलटाल गर्ने र पीडितलाई झुलाउने काम गरेपछि स्थानीय आक्रोशित भए । भतिज हराउनेबित्तिकै काका विष्णुले प्रहरीलाई मौखिक खबर गरेका थिए । मौखिक खबरको बेवास्ता गरेर प्रहरीले खोजीमा चासो नदेखाएको दाबी शिवाकोटी परिवारले गर्दै आएको थियो ।

स्थानीयको बारम्बारको दबाबपछि प्रहरीले ८ जनाविरुद्ध किटानी जाहेरी दर्ता ग¥यो । प्रहरीले सन्तोष, सुधीर र समिर पोखरेललाई मात्रै असोज १९ गते पक्राउ ग¥यो । ३५ दिन कटेपछि तीनै जनालाई छाड्ने रणनीतिमा डिएसपी थिए ।

असोज १० गते शुक्रबारका दिन । ११ वर्षीय बालक शिवाकोटीको मृत्यु प्रकरणमा आफन्तले दिएको उजुरीउपर प्रहरी अनुसन्धान अपुरोे भएको भन्दै आफन्त र स्थानीय गाउँले सडकमा उत्रिए । तर, एकाएक त्यो विरोध ¥याली हिंसामा परिणत भयो ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले एकाएक गोली चलायो । कफ्र्यु लगायो । गोली लागेर अर्जुनधारा–११ का ३२ वर्षीय नरेश थापाको मृत्यु नै भयो ।

सोही दिन अपराह्नदेखि स्थानीय प्रशासनले बिर्तामोडको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी ग¥यो । प्रदर्शनकारीले कफ्र्यु आदेश उल्लंघन गर्दै बिर्तामोडका विभिन्न ठाउँमा आगजनी गरे । गोली लागेर राजगढका सुनील पाठक, अर्जुनधाराका पूर्ण लुइँटेल, मेचीनगरका अशोक बस्नेत, कन्काई नगरपालिकाका नवराज कोइराला, बिर्तामोडका देवानन्द राजवंशी र इलाम दानावारीका मणि नेपाली गम्भीर घाइते भए । मणिको हाल राजधानीमा उपचार भइरहेको छ ।

अन्य घाइतेको बिर्तामोडको बी एण्ड सी टिचिङ अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते हुनेको संख्या ५० भन्दा बढी छ । दुई वर्षअघि मात्रै वैवााहिक जीवन शुरु गरेकी अनिता थापा पति वियोगको पीडामा छट्पटाइरहेकी छन् । प्रहरीले चलाएको गोली लागेर उनका ३२ वर्षीय श्रीमान् नरेश पाँच महिने छोरो अर्पणलाई टुहुरो बनाएर सदाको लागि संसारबाट बिदा भएका छन् ।

डिएसपी राजकुमार सिलवाल ०७२ साल मंसिर १५ गते मंगलबार मध्यराति काठमाडौंको कमलादीस्थित टाइम्स क्लबमा रक्सीले मातिएर पदीय धम्की दिँदै गिलास प्रहार गरेपछि बाउन्सरबाट कुटिएका हुन् । त्यसबेला उनलाई प्रहरी मुख्यालयले निलम्बन गरेको थियो ।

त्यसअघि, ०६५ सालमा ठमेलको फायर डिस्कोमा बिल तिर्न अटेर गरेपछि त्यसबेला पनि बाउन्सरबाट कुटिएका थिए ।