प्रकाशित: २०७४ कार्तिक २१
गौचन हत्याकाण्ड : अनुसन्धानको घेरामा ठेकेदार र डनदेखि प्रहरीका हाकिमसम्म

Image
-samir

कार्तिक २१ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याकाण्डमा शंकास्पद केही ठेकेदार र गुण्डा नाइकेमाथि प्रहरीले गोप्य अनुसन्धान गरिरहेको सूचना न्यूजसेवालाई प्राप्त भएको छ । गौचनको हत्या भएको एक महिना बित्न लाग्दा पनि मुख्य अभियुक्त सार्वजनिक नगरेको आरोप प्रहरीमाथि लागिरहेका बेला नयाँ सूचना प्राप्त भएको हो । 


घटनाका मुख्य अभियुक्त मानिएका मनोज पुन, समिरमानसिंह बस्नेत र लोप्साङ राईको सञ्जाल खोतल्न प्रहरी लागिपरेपछि केही ठेकेदारहरु नै अनुसन्धानमा तानिन लागेका हुन् । प्रहरी उच्चस्रोतका अनुसार डिआईजी गणेश केसीको छानविन समितिले गौचनसँग कारोबार भएका व्यक्तिहरु र उनलाई धम्क्याउँदै आएको समूहको अनुसन्धान गरिरहेको छ । 

घटनामा समिरमानसिंह बस्नेत समूहको हात रहेको औंल्याउँदै छानविन समितिले बस्नेतको खोजीलाई तिब्र बनाएको बताइएको छ । स्रोतअनुसार गौचन हत्याकाण्डको अनुसन्धानमा हेटौंडाका ठेकेदार सन्तोष गौतममाथि अनुसन्धान सुरु भएको छ । किनभने, गौचन र प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’को भेट गौतमले नै गराएका थिए । भारतमा बस्दै आएका बस्नेतलाई प्रयोग गरी गौतमले काठमाडौंमा ठेक्का कब्जा गर्दै आएका छन् ।

गजुरमुखी निर्माण कम्पनीको सेयर होल्डरसमेत रहेका गौतमकै योजनामा महानगरीय प्रहरी बृत्त कालीमाटी र कलंकीको भवन बनाउने ठेक्का चार महिनाअघि उमेश लामाले लिएका थिए । लामा गुण्डा नाइके दिपक मनाङ्गेका दाहिने हात मानिन्छन् । यो सम्बन्ध गौचनलाई मन परेको थिएन भने दुई ठेक्काबाट आएको कमिसन गौतमले गौचनलाई नदिई प्रहरीका उच्च हाकिमलाई मात्र दिएका थिए । त्यही घटनाका कारण गौचन र गौतमबीच दुरी बढेको थियो । प्रहरी स्रोतका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख छविलाल जोशी र अपराध महाशाखाका तत्कालिन प्रमुख दिनेश अमात्यलाई गौतमले कमिसनवापत लाखौं रकमसमेत बुझाएका थिए । 

त्यस्तै, महासंघबाट आउने कमिसन पनि गौतमले एक डिएसपीमार्फत् प्रहरीका उच्च हाकिमहरुलाई बाँड्दै आएका थिए । प्रहरी स्रोतका अनुसार बस्नेत निकट रहेका ती डिएसपी पनि अनुसन्धानको दायरामा तानिने सम्भावना छ ।  तिनै डिएसपीको पहलमा मनोज पुन समूहलाई सम्पूर्ण दोष थुपारेर बस्नेतलाई जोगाउने खेल पनि रचिएको एक ठेकेदार बताउँछन् । 

त्यसैगरी, महासंघका अध्यक्षसमेत रहेका गौचनको पहलमा एक महिनाअघि १० अर्ब बजेटको हुलाकी राजमार्गको टेण्डर चिनियाँ कम्पनीलाई दिलाइएको थियो । गौचनमाथि त्यतिबेला बस्नेतको समूहले तीन करोड माग गरेको थियो । स्रोतका अनुसार उक्त टेण्डर मिलाएवापत गौचनको समूहले महासंघको नाममा ५० करोड कमिशन लिएको भन्दै गौतमको निर्देशनमा बस्नेतले गौचनसँग रकम मागेका थिए ।
 
रकमको भागवण्डा नमिलेपछि गौतमकै सूचनाका आधारमा गौचनमाथि आक्रमण भएको आरोप लाग्न थालेको छ । 

कमिसन नपाएपछि गौतमले सबै सूचना बस्नेतसम्म पु-याएका थिए । गौचन र जिपछिरिङ लामालाई बस्नेतले एक महिनादेखि  इन्टरनेट कलमार्फत् धम्क्याउँदै आएका थिए । प्रहरी स्रोत भने गौतम घटनमा संलग्नता रहे÷नरहेको विषय अनुसन्धानपछि मात्र थाहा हुने बताउँछ । 

गौचन हत्याकाण्डमा प्रयोग भएका लोप्साङ राईलाई बस्नेतले नै प्रयोग गरेको हुनसक्ने प्रहरीको आशंका छ । राई मनोज पुन समूहका व्यक्ति हुन् । बस्नेत काठमाडौंबाट फरार भए लगत्तै भारतमा पुगेपछि मनोज पुनसँग नजिक भएका थिए । अहिले प्रहरीले पुन, बस्नेत र राईको सम्बन्धको जरो खोतल्ने काम गरिरहेको छ । गौचनको हत्या भएलगत्तै उनको गाडीमा भेटिएका झण्डै १३ करोड बराबरका चेकका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।