प्रकाशित: २०७४ कार्तिक २१
ठेकेदार भर्सेज ठेकेदार

-– विष्णु तारुके

दुवै क वर्गका ठेकेदार रहेको कारण रसुवाको चुनाव थप रोचक बन्दै गएको छ । ३ नम्बर प्रदेशकै सबैभन्दा कम मतदाता रहेको रसुवा भौगोलिक हिसाबले दुर्गम मानिन्छ । यसै कारण त्यहाँका मतदाता सधैँ ‘बिकाउ’ मतदाताको उपमा नपाएका होइनन् । उम्मेदवार बनाउने दलले पनि पैसावाल खोजेर टिकट दिने परिपाटी शुरु भएको हो । माओवादी केन्द्रले व्यापारी अजेयराज सुमार्गीलाई उठाउने चर्चा पनि नचलेको होइन ।

रसुवामा राम्रो रहेको नयाँ शक्तिले कांग्रेससँग गठबन्धन बनाएको छ । माथिल्लो हिमाली क्षेत्रमा तामाङ र तल्लोमा ब्राह्मण क्षत्रीको अधिकांश बसोवास रहेको रसुवामा प्रतिनिधिसभातर्फ दुवै गठबन्धनले ब्राह्मण जातिलाई उठाएका छन् ।

प्रतिनिधिसभामा एमालेका निवर्तमान सांसद जनार्दन ढकाल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका नयाँ अनुहार मोहन आचार्यबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

मनोनयनको दिन ढकालले ४३ वटा हाइलक्स ल्याएका थिए भने आचार्यले ४० वटा । जनार्दन ०७० सालमा चुनाव जित्दा मोहन आचार्यको पनि सहयोग थियो । राप्रपाका हालसालै दिवंगत नेता तथा पूर्वमन्त्री रामकृष्ण आचार्यका भतिजा मोहनले खर्चमा कुनै कन्जुस्याइँ नगर्ने बताइसकेका छन् ।

 

उता, क श्रेणीकै सूर्य चन्द्र कन्स्ट्रक्सनका मालिक हुन् जनार्दन ढकाल । ०७० सालको चुनावमा राम्रो मतान्तरले जितेका ढकाललाई यसपटक माओवादीको पनि साथ छ । भूकम्पका बेला सांसदको हैसियतमा गरेको काम र केरुङ नाका खुलाउन गरेको पहलका कारण ढकालको हैसियत बढेको छ ।

यस्तो छ मत

हिमाली जिल्ला रसुवामा पाँचवटा गाउँपालिका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले २, कांग्रेसले २ र नयाँ शक्तिले एउटा प्रमुख जितेका छन् । रोचक संयोगचाहिँ के छ भने पाँचवटै स्थानीय तहको उपप्रमुखचाहिँ एमालेले जितेको छ ।

स्थानीय तहमा प्राप्त मतका आधारमा वामपन्थी गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा करिब ४ हजार मतले अगाडि छ । एमालेले १३ हजार ८ सय ५७, कांग्रेसले १० हजार ७ सय ६० मत पाएका छन् । त्यस्तै, माओवादीले ६ हजार १ सय ३५ र नयाँ शक्तिले ४ हजार २ सय ४१ मत ल्याएको हो ।

यसरी जोड्दा वामपन्थी गठबन्धनको मत करिब १९ हजार हुन्छ भने लोकतान्त्रिक गठबन्धनको मत करिब १५ हजार मात्रै हुन्छ ।