प्रकाशित: २०७४ कार्तिक २३
उद्योगीहरु भन्छन ‘विदेशमा लगानी गर्न पाउँ’

-Krishna Prasad Bhattarai

उद्योगी-व्यवसायीहरुले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन खारेज गर्न सरकारसँग माग गरेका छन ।

नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उद्योगी÷व्यवसायीहरुले अन्तःशुल्क ऐन व्यवसायीहरुको हितमा नरहेको भन्दै तत्काल परिमार्जन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रको समुन्नतिमा योगदान दिन सक्ने कानुन निर्माण गर्न सरकारसँग माग राखी सकेको बताए । कानुनमा समय सापेक्ष सुधार नभएकै कारण मुलुकको उद्योग,  व्यवसाय फष्टाउन नसकेको शर्माले दावी गरे ।

 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगीहरुलाई समस्या पार्ने सबै खालको कानुन संशोधन र खारेज गर्न माग गरेका छन् । उनले उद्योग संचालनका लागि आवश्यक जग्गा खरिद प्रक्रिया सम्बन्धि कानुनमा हुने जटिलता तत्काल हटाउन पनि सरकारसँग आग्रह गरेका छन् ।

 

उद्योगी व्यवसायीहरुले जग्गा प्राप्ती ऐन, निकासी पैठारी नियन्त्रण ऐन, बोनस ऐन, वातावरण संरक्षण नियमावली समय सापेक्ष परिवर्तन गर्न नसके नेपालको उद्योग  व्यवसाय झनै जटिलतामा फस्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन ।