प्रकाशित: २०७४ पौष १७
वाममा पदको सकस



Image


काठमाडौँ, पुस १७ । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले–माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् ।
दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आ–आफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् ।

आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली बन्ने करिब सहमति भए पनि पार्टी एकतापछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाललगायत नेताको व्यवस्थापनका विषयमा गठबन्धनले ठोस निर्णय लिइसकेको छैन ।

दुवै पार्टीका अध्यक्ष कार्यकारी भूमिकामा रहने बताइए पनि अहिलेसम्म त्यस्तो मोडालिटीको ठोस खाका तयार भने भइसकेको छैन । समान कार्यकारी भूमिकामा रहने ‘भद्र सहमति’ सहित पार्टी एकताको घोषणा गरिएको छ तर त्यस्तो भूमिकाको व्यवस्थापन मिलाउन नेताबीच गृहकार्य जारी छ । बुधबार र शुक्रबार ओली–दाहालबीचको एक्लाएक्लै छलफल त्यसैमा केन्द्रित देखिन्छ ।अन्नपूर्ण पोस्ट्मा समाचार छ ।


सम्मानजनक एकताका लागि नेतृत्वको पदीय व्यवस्थापनको प्रश्नलाई दोस्रो पुस्ताका नेताहरूले दबाब रूपमा उठाएका कारण पनि गठबन्धनका दुवै अध्यक्ष थप दवावमा छन् ।