प्रकाशित: २०७४ पौष १८
राष्ट्रिय सभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारीमा सरकार



Image

काठमाडौँ, १८ पुस । सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेसका शीर्षनेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएपछि सरकारको तयारी शुरु हुन थालेको बैठकमा सहभागी नेता बालकृष्ण खाँणले बताए । काँग्रेस पदाधिकारी र प्रभावशाली नेतासँगको छलफलपछि प्रधानमन्त्री देउवाले तत्काल प्रमुख दलका शीर्षनेतासँग आवश्यक परामर्श गर्ने बताएको जनाइएको छ ।

छलफलपछि प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलमा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सो विषयमा शीघ्र परामर्श गर्ने बताएका थिए ।  
बैठकमा नेताहरुले अविलम्ब प्रदेश प्रमुख नियुक्त गर्न, राष्ट्रियसभा निर्वाचनको मिति तोक्न तथा निर्वाचनका लागि आवश्यक पूर्वाधारलगायत निर्णय गर्न सुझाव दिएका थिए । निर्वाचन आयोगका पदाधिकारीले केही दिनअघि प्रधानमन्त्री देउवासँग भेटी राष्ट्रियसभा निर्वाचन मिति तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गर्नुभएको थियो । आयोगले प्रदेशसभाको अन्तिम निर्वाचन मतपरिणाम प्रदेश प्रमुखलाई नै बुझाउनुपर्ने कानुनी प्रावधान छ ।

बैठकमा निर्वाचनपछि पार्टी पंक्तिमा तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने आवाज उठेको सम्बन्धमा पनि छलफल भएको नेता खाँणले बताए ।  छलफलमा प्रधानमन्त्री देउवाले पार्टीमा बृहत्तर एकताको आवश्यकता औँल्याउँदै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने बेला भएकाले सुझाव मागेका थिए ।