प्रकाशित: २०७४ पौष २२
तोकिएन प्रदेश मुकाम र प्रमुख

Image

काठमाडौँ, पुस २२। प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने अपेक्षा गरिएको शुक्रबारको मन्त्रिपरिषद् बैठकले यी दुवै विषयमा निर्णय लिन सकेन । प्रदेश प्रमुख, मुकाम तोक्ने काम सरकारको भएको भन्दै बिहीबार सर्वदलीय बैठकले सरकारलाई निर्णय लिन सहमति दिएको थियो ।
सर्वदलीय बैठकको भोलिपल्ट शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई विषय टुंग्याउने अपेक्षा गरिए पनि सरकारले राष्ट्रियसभा निर्वाचन माघ २४ मा गराउने मात्रै निर्णय लिएको छ । प्रदेश प्रमुखका लागि चर्चा गरिएका नामावली तथा अस्थायी मुकाम तोक्ने विषयमा सत्तारुढ दलभित्रै व्यापक छलफल हुन नसक्दा शुक्रबार सरकारले यो विषयमा निर्णय लिन नसकेको सरकारी अधिकारीले बताएका छन् । तर, सरकारी अधिकारीले प्रदेश प्रमुख र अस्थायी मुकाम मन्त्रिपरिषद्को आगामी बैठकबाट तोक्ने गरी गृहकार्य भइरहेको जनाएका छन् । अन्नपूर्ण पोष्टले समाचार दिएको छ ।


अपजस आउने काम भएकाले पाँच दलको सहमतिमै गर्ने तर ठोस सहमति नभए पनि आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय लिने सरकारको योजना छ । सर्वदलीय बैठकमा वाम गठबन्धनका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश प्रमुख, प्रदेशहरूको सदरमुकाम र राष्ट्रियसभा निर्वाचन मिति तोक्न सरकार एक्लैले सक्ने भन्दै त्यसका सहमति जुटाइरहन नपर्ने धारणा व्यक्त गरेका थिए ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले प्रदेश प्रमुख र मुकाम तोक्न सहमतिको प्रयास भइरहेको जनाउँदै सहमति नभए पनि आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय लिइने बताए ।

सात वटा प्रदेश प्रमुखको नियुक्तिमा वाम गठबन्धनबाट प्रतिनिधित्व गराउने प्रयासमा कांग्रेस रहेको बताइएको छ ।

 

s