प्रकाशित: २०७४ कार्तिक २३
खेल्न योग्य बन्यो मूलपानी क्रिकेट रंगशाला, शनिबार उद्घाटन हुने

Image
-samir
 
कार्तिक २३ । बहुप्रतीक्षित मूलपानी क्रिकेट रंगशालाको माथिल्लो मैदान खेल्न योग्य भएको छ । मैदानको आगामी शनिबार औपचारिक उद्घाटन हुँदैछ ।

बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजै मूलपानी क्रिकेट मैदानको अवलोकन गरी केहिबेर अभ्याससमेत गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानका कार्यसञ्चालन अधिकृत छुम्बी लामाका अनुसार शनिबार राष्ट्रिय क्रिकेट खेलाडी र पूर्व राष्ट्रिय खेलाडीहरुको टीमबीच खेल खेलाएर मैदानको औपचारिक उद्घाटन गरिनेछ भने मैदान खेल्न योग्य छ भन्ने सन्देश पनि प्रवाह गरिनेछ ।

करीव १२ वर्षअघिदेखि निर्माण सुरु भएको यस रंगशालाको मैदान निर्माण अभियानले अघिल्लो वर्षको चैतदेखि गति लिएको थियो ।

क्रिकेट खेलाडीहरुको सक्रियतामा राष्ट्रिय खेलकुद परिषदले बजेट उपलब्ध गराएपछि मैदानको फिनिसिङकार्य सम्भव भएको हो ।

२०६३ सालमै पाकिस्तानी क्यूरेटरले पीच बनाएको भएपछि मैदान सम्याउनेदेखि दूवो रोप्ने, बाउण्ड्री निर्धारण गर्ने लगायतका अन्तिम चरणका कामहरु पछिल्लो १० महिनाको अवधीमा सम्पन्न भएका हुन् ।

रंगशालामा भिआइपी कक्ष र पेविलियन र चेञ्जिङ रुमसहितको भवन यसअघि नै तयारी अवस्थामा छ ।

२०७४ कार्तिक २३ गते १८:३८ मा प्रकाशित