प्रकाशित: २०७४ कार्तिक २५
दूतावासको राम्रो काम सबैले सिकुन्

Image
-कल्पना घिमिरे
 
समयभन्दा केही ढिला गरेर कार्यक्रम सुरु गरिए पनि कार्यक्रमको फरम्याट असाध्यै राम्रो थियो । कार्यक्रममा उपस्थित भएका विशिष्ट व्यक्तिहरु कसैलाई पनि मञ्चमा आसन ग्रहण गराउने र भाषण गर्न दिने व्यवस्था थिएन ।
 
न्यूयोर्कका अधिकांश कार्यक्रममा उपस्थित भएका आधा जसोलाई मञ्चमा बक्ताका रुपमा आसन ग्रहण गराउने र ती सबैलाई बोल्न दिने गरिन्छ । ठूलो संख्यामा मञ्चमा बसेका सबैले बोल्दा दिक्कलाग्दो र लामो समय खर्चनुपरेको अनुभव छ । तर, दूतावासले आधा घण्टामै कार्यक्रम छिटो–छरितो सम्पन्न ग¥यो । न्यूयोर्कमा भएका धेरै कार्यक्रममा गएँ, तर यतिको सटिक कार्यक्रम मेरो लागि पहिलो अनुभव थियो ।  
दूतावासका महावाणिज्यदूत मधुकुमार मरासिनीले कार्यक्रमको स्वागत गरे । त्यसपछि उपप्रधानमन्त्रीले ५ मिनेट बोले । प्रधानमन्त्रीले १० मिनेट जति बोलेपछि दूतावासका कन्सुल कृषु क्षेत्रीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएर समापन भएको घोषणा गरे । बोल्न पाएपछि आफ्नो मन्तव्य टुङ्ग्याउन बिर्सने । ५ मिनेटको समय दिएमा आधा घण्टा बोल्नेहरुले यो कार्यक्रमबाट धेरै सिक्नु जरुरी छ । 
 
दूतावासका कन्सुल क्षेत्रीले सबैलाई आ–आफ्नै स्थानमा एकै पटकमा आसन ग्रहण गराए । त्यहाँ नेपाली राजदूत डा. अर्जुन कार्की, सरकारका सचिवहरु, परराष्ट्र मन्त्रालयका कर्मचारी र कूटनीतिक व्यक्तिहरुको सहभागिता थियो । एकैपटकमा सबैलाई बसिरहेकै स्थानमा आसन ग्रहण गराउनु र अनावश्यक कसैलाई भाषण गर्न नदिने दूतावासको यो तरिका असाध्यै राम्रो छ । जसले समयको वचत र कार्यक्रमलाई छोटो–मीठो बनाउँछ । दूतावासको यो राम्रो कामलाई न्यूयोर्कका सामाजिक संघसंस्थाले पनि ग्रहण गर्नु जरुरी छ । आयोजकले कार्यक्रम समयमै सुरु गरुन् र यस्तै छोटो–छरितो बनाउन् । दूतावासको यो राम्रो काम सबैले सिकुन् ।