प्रकाशित: २०७४ कार्तिक २५
झोलापछि अब 'भोर'

Image
-विश्व न्यूज संबाददाता
दक्षिण एसियाकै उत्कृष्ट चलचित्र झोला बनाउन सफल निर्माता तथा निर्देशक यादवकुमार भट्टराईले अर्को चलचित्र भोर निर्माण गरेका छन् । चलचित्र झोला सतिप्रथाविरुद्धको चलचित्र थियो भने निर्देशक भट्टराईको पछिल्लो चलचित्र भोर भने दाइँजोप्रथाविरुद्धको रहेको छ । नेपालको मधेश–तराईको कथावस्तु रहेको यो चलचित्र पनि कृष्ण धराबासीले नै लेखेका हुन् । झोलाको सफलतापश्चात् सोही चलचित्रको क्रेजलाई कायम गर्न नेपालका अग्रज साहित्यकारसमेत रहेका कृष्ण धराबासी जुर्मुराए ।
 
एक वर्ष त चलचित्र भोरको अध्ययनका लागि नै विभिन्न समय पारेर सात पल्ट तराई–मधेश जनकपुरको धनुषाका मिथिला क्षेत्र फन्को मारेका थिए । सात पल्ट चलचित्र सुटिङकै लागि फन्को मारेर करिब एक वर्षको स्थलगत अध्ययनपश्चात् सुटिङ पूरा गरेका निर्देशक भट्टराईले चलचित्र झोलामा जस्तो चलचित्र भोरमा कुनै राष्ट्रियस्तरका चिनिएका कलाकारलाई अभिनय गराएका छैनन् । जनकपुरकै स्थानीय मिथिलावासी कलाकारलाई नै अभिनय गराएका छन् ।
 
चलचित्र भोरको कार्यकारी निर्मातामा देवेन्द्रप्रसाद सुवेदी, निर्माता राज तिमिल्सिना र रामगोपाल थापा रहेका छन् । चलचित्र भोरका प्रमुख कलाकारमा कलाकार रामनारायण ठाकुरका साथमा मदन ठाकुर, परमेश झा, बीएन पटेल, राजेश सक्सेना, डली सरकार, अनिता रानी मण्डल, संगीता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायत रहेका छन् ।