प्रकाशित: २०७४ कार्तिक २५
लोग्ने छोड्छु तर अमेरिका छाड्दिन !

-योगेश आदी
‘म पनि एकपटक अमेरिका घुम्न आउनुप¥यो, स्पोन्सर लेटर पठाइदिन्छौं भने महाराजगञ्ज गएर एप्लाई गर्छु ।’ मैले प्रतिवाद नै नगरी खेस्रा पठाएँ, भिसा लागेन । यस हप्ता टेक्सासको एउटा चर्चमा सामूहिक गोली हत्याकाण्ड भएपछि उक्त साथीको मेसेज आयो– ‘अमेरिका त असाध्यै असुरक्षित रहेछ यार ।’ मैले ‘हो’ भनें । सायद साथीले भिसा नलागेको ईख पोख्यो । अमेरिकाको ओक्लाहामामा टोर्नेडो आउँदा नेपालबाट फोन आउँछ– ‘तिमीहरु राम्ररी बस् है ?’ म हवस् भन्छु नकि ‘म न्यूयोर्कमा बस्छु त्यता होइन ।’
 
गत महिना फ्लोरिडामा हरिकेन आयो । त्यस्तै फोनहरु आए । अमेरिकाको ५० वटै राज्यमा कुनै पनि एउटा घटना हुनु भनेको संसारको ध्यान तानिनु हो । नेपालको पत्रपत्रिकामा डोनाल्ड ट्रम्प गल्फ खेल्न आयरल्याण्ड गएको समाचार छापिन्छ । बंगालको खाडीमा डुंगा डुबेर ५० जना बेपत्ता भएको समाचार छापिँदैन । रञ्जु दर्शनाले बनाएको सेलरोटीको समाचार र आरजु राणाले आफ्नो श्रीमान्सँग बसेर वाइन खाएको फोटो छापिन्छ, तर मुगुमा सुत्केरी हुन नसकेर मरेको समाचार छापिँदैन ।
 
वास्तवमा चर्चा हुने भनेकै ठूलाबडाको रहेछ । नेपालमा हप्तैपिच्छे सवारी दुर्घटनामा दर्जनौं मान्छे मरेजस्तै अमेरिकामा पनि हप्तैपिच्छे दर्जनौं गोलीबाट मारिएको समाचार सुनिन्छ । नेपालको कमजोरी सडक र सवारी नियम भनेजस्तै अमेरिकाको कमजोरी बन्दुक र सोसम्बन्धी नियम रहेछ । के समाचारमा छापिएजस्तै डरलाग्दो छ त अमेरिका ? नेपालमा पौने ३ वर्ष अघि आएको भूकम्पताका विदेशीहरुले नेपाल देश नै पुरिएझैं गरेको थियो । मिडियामा देखाइए जस्तै असुरक्षित पक्कै छैन– अमेरिका । 
 
वास्तवमै असुरक्षित हुँदो हो त ३० लाख तिरेर नेपालबाट, ४० लाख तिरेर संसारकै ठूलो प्रजातान्त्रिक देश भारतबाट अनि २० हजार डलर तिरेर द्रूत आर्थिक विकास भएको चीनबाट किन मानव तस्करको जालोमार्फत अमेरिका छिर्न मरिहत्ते गर्थे होलान् र ? अमेरिका छिरिसकेपछि यहाँको चुम्बकीय शक्ति अझ अलौकिक छ । नेपालमा स्वास्नी भएकाहरु कागजात नभएसम्म बरु स्वास्नी छोड्न तयार हुन्छन्, तर अमेरिका छाड्न चाहँदैनन्, त्यस्तै लोग्ने उता भएकाहरु लोग्ने छोड्न तयार हुन्छन् तर अमेरिका छाड्दैनन् । यी र यस्ता सयौं पात्रहरु यहाँ पाइला–पाइलामा भेटिन्छन् ।