प्रकाशित: २०७४ कार्तिक २५
मतदातालाई सुरक्षाको प्रत्याभुति देऊ : प्रमुख निर्वाचन आयुक्त

Image
-विश्व न्यूज संबाददाता

कार्तिक २५ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उम्मेद्धवार तथा आम मतदातालाई सुरक्षाको प्रत्याभुति दिलाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले मतदाता तथा उम्मेद्धवारको पूर्ण सुरक्षाको प्रत्याभुति सरकारले दिलाउनुपर्ने बताउनुभएको हो ।

पछिल्ला घटनाले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले उम्मेदवार देखि मतदातासम्मको सुरक्षाको विशेष प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्नुभएको हो । शुक्रबार रोल्पा र रुकुममा उम्मेदवारमाथि आक्रमण हुनु सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील भएको भन्दै प्रमुख आयुक्त यादवले सरकारले संवेदनशील भएर शसक्त रुपमा सुरक्षाको पूर्ण प्रत्याभुति दिलाउनुपर्ने बताउनुभयो । मंसिर १० र २१ गतेको निर्वाचन सुनिश्चित भएको भन्दै उहाँले छिटफुट घटनाका कारण निर्वाचनमाथि शंका नगर्न पनि आग्रह गर्नुभयो ।

सुरक्षा संवेदनशीलता प्रति गम्भीर बन्दै आयोगले आईतबार निर्वाचन सुरक्षा सम्बन्धी सुरक्षा निकायसंगको उच्चस्तरीय बैठक बोलाएको छ ।