प्रकाशित: २०७४ कार्तिक २६
देउवाको सपना ‘बहुमत सहितको कांग्रेस सरकार’

Image
-samir

कार्तिक २६ । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी हुनबाट कसैले पनि रोक्न नसक्ने दावी प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन् ।

 

प्रधानमन्त्री देउवाले नेपाली जनता प्रजातन्त्रको पक्षमा रहेकाले पनि आगामी निर्वाचनमा नेपाली काँग्रेस नै विजयी हुने तर्क अघि सरेका छन् । उनले मुलुकमा राणा र पञ्चायत जस्ता एकदलीय तानाशाही व्यवस्था समाप्त पारेको काँग्रेसले कम्युनिष्ट तानाशाहलाई पनि मौलाउन नदिने बताएका छन् ।

 

आईतबार आफ्नै सरकारी निवास बालुवाटारमा विभिन्न पार्टीका नेता कार्यकर्तालाई काँग्रेस प्रवेश गराउँदै प्रधानमन्त्री देउवाले प्रजातन्त्र, लोकतन्त्र र बहुदलीय व्यवस्थाको रक्षा गर्न अपिल गरेका छन् । सोहि अवसरमा देउवाले चुनावी प्रचार अभियानमा जुटन आफ्ना पार्टीका नेता कार्यकर्तालाई पुनः निर्देशन दिएका छन् ।

 

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन नेपाली काँग्रेस विजयी हुनुको विकल्प नरहेको दावी गरेका छन् । नेता पौडेलले जनता कम्युनिष्ट अधिनायकवादी शासन व्यवस्थाको पक्षमा नरहेको बताए ।