प्रकाशित: २०७४ कार्तिक २६
भारत माथि नेपालको शानदार जित

Image
-विश्व न्यूज संबाददाता

कार्तिक २६ । नेपालले एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित हासिल गरेको छ । एसीसी यू-१९ एसिया कपमा नेपालले भारत सामू १८६ रनको लक्ष्य राखेको थियो । भारत माथि नेपालले कुनै पनि तहको क्रिकेटमा हात पारेको यो पहिलो जित हो ।

मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गर्‍यो । नेपालको पारी सकिन ८ बल बाँकी छँदा आठौं विकेटका रुपमा आउट हुनु अघि दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै  ८८ रन बनाएका थिए ।

 

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जित सम्भव भयो ।

कप्तानी खेल खेलेका ऐरीले ब्याटिङ तर्फ ८८ रन जोडे भने बलिङतर्फ ४ विकेट लिंदै भारतको ब्याटिङ पंक्ति धराशायी बनाए ।

भारतका कप्तान हिमांशु राना र मनजोत कलराले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि नेपाली बलरले देखाएको उत्कृष्ट प्रदर्शनले अन्य कुनै  भारतीय ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् ।

 

नेपालका लागि पवन सर्राफ र साहव आलमले २/२ विकेट लिए भने सन्दिप लामिछाने र कमल ऐरीले १/१ विकेट लिए ।

 

८८ रन जोडेर ४ विकेट लिएका कप्तान ऐरी खेलको म्यान अफ द म्याच चुनिए ।

 

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार बंगलादेशसँग २ विकेटको झिनो हार ब्यहोरेको थियो ।

नेपालले आफ्नो अर्को खेल मंगलबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।