प्रकाशित: २०७४ कार्तिक २७
उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्वाचन आयोगको निर्देशन

Image

उमेद्वारहरुले आयोजना गरेका विभिन्न कार्यक्रमहरुलाई बाधा पुर्याउने तथा उम्मेदवारलाई नै निशाना बनाएर विभिन्न गतिबिधि बढेकोले निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चार वटै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

रुकुम, रोल्पालगायत देशका विभिन्न भागमा उम्मेदवारलाई नै निशाना बनाएर बम प्रहार गरेपछि निर्वाचन आयोगले चार वटै सुरक्षा निकायलाई सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन पुनः सचेत गराएको हो ।

नेपाल प्रहरी, सशष्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुखहरुसँग सामूहिक भेटगरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सुरक्षित वातावरणमा निर्वाचन सम्पन्न गराउन उच्च सतर्कता अपनाउनु पर्ने बताए ।

आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आम मतदाताले निर्भयताका साथ मतदान गर्न पाउने वातावरण बन्नु पर्ने गरी सुरक्षा व्यवस्था थप सुदृढ बनाउने विषयमा मुलुकका सुरक्षा निकायका प्रमुखहरुसँग गम्भिर छलफल गरिएको डा. यादवले बताए ।

पहिलो चरणको मंसीर १० गते हुने निर्वाचनको सुरक्षा तयारीका विषयमा पनि सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचन आयोगले जानकारी लिएको छ । त्यसक्रममा सुरक्षा निकायका प्रमुखहरुले सुरक्षाको भरपर्दो व्यवस्था गरिएको र सुरक्षा संवेदनशीलतालाई हेरेर सुरक्षा व्यवस्थालार्ई अझै सुदृढ बनाउने प्रतिवद्धता पनि जनाएका थिए ।

सरकारले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक जनशक्ति परिचालन गरिसकेको पनि स्पष्ट पारेको छ । बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका सुरक्षा व्यवस्थाका बारेमा विस्तृत जानकारी दिएका थिए ।

s