प्रकाशित: २०७४ कार्तिक २७
लगानी जुटाउन अरुण तेस्रो र माथिल्लो कर्णालीको म्याद थप

Image
-विश्व न्यूज संबाददाता

कार्तिक २७ । अरुण तेस्रो जलविद्युत आयोजना र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउन सरकारले ६ महिनाको समय थप गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको सोमबारको बैठकले मुलुकका २ ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटाउन ६ महिना समय थप गर्ने निर्णय गरेको हो ।

यी दुई ठुला जलविद्युत आयोजनाका लागि व्यवहारिक पक्षलाई ध्यानमा राखी लगानी जुटाउन थप ६ महिना समय आवश्यक रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

यस अघि ९ सय मेघावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना र ९ सय मेघावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउने जिम्मा सरकारले भारतीय कम्पनीलाई दिएको थियो ।

 

लगानी बोर्डले काठमाडौं उपत्यका भित्र विद्युतीय रेलमार्ग निर्माणका लागि आवश्यक पूर्वाधारको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगको पूर्वाधार विभागलाई निर्देशन पनि दिएको छ । काठमाडौं उपत्यका भित्रको विद्युतीय रेलमार्ग निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न विभागलाई निर्देशन दिने निर्णय गरिएको पनि प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताएका छन् ।