प्रकाशित: २०७४ कार्तिक २७
साताको दोस्रो दिन नेप्सेमा दोहोरो अंकको वृद्धि

Image
-विश्व न्यूज संबाददाता

कार्तिक २७  साताको दोश्रो दिन सोमबार पनि बजार सकारात्मक रहेको छ । लगातार तेह्रौं दिनसम्म घटेर आइतबार १६ अंकले उकालो लागेको बजार सोमबार पनि सोही बाटो समातेको छ । सोमबार बजार १३ दशमलव ७४ अंकले बढेर एक हजार ४ सय ९० दशमलव ८८ अंकका पुगेर बजार बन्द भएको छ ।

नेप्से परिसुचक बढेसँगै सोमबार कारोबार रकममा पनि वृद्धि भएको छ । आइतबार ३९ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएकोमा सोमबार १५८ कम्पनीको ७१ करोड ४६ लाख ५७ हजार ४५९ रुपैयाको शेयर खरिदबिक्री भएका छन् ।

सोमबार कारोबारमा आएका १० समूहमध्ये होटल र विकास बैंक बाहेकका सबै समूह बढेपछि समग्र बजार उकालो चढेको हो ।

आज सबैभन्दा बढी गुराँस लाईफ इन्स्योरेन्सको संस्थापक शेयर किनबेच भएको छ । यो कम्पनीको ११ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको हो । त्यस्तै प्रभु बैंकको संस्थापक शेयर पनि ५ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको हो ।

सोमबार सर्वाधिक कमाउनेमा चिलिमे लघुवित्तका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ८ दशमलव १० प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा भने प्रभु बैंकका संस्थापक शेयरधनी रहेका छन् । यो कम्पनीको संस्थापक शेयरको मूल्य ६ दशमलव ३१ प्रतिशतले घटेको छ ।