प्रकाशित: २०७४ कार्तिक २९
लगातार ३ दिन बढ्दैमा बुल्लिश ट्रेन्ड समातेको होइन, संयमित तवरले लगानी गरौ !

Image

-Krishna Prasad Bhattarai

कार्तिक २९ । नेप्से लगातार १३ अंक झरे पछि यस साताको पहिलो दिनदेखि दोहोरो अंकले बढी रहेको छ । कुनै पनि बजारले माथि चढ्ने गति लिएको अथवा तल झर्ने गति लिएको भनेर कुनै १ दिन २ दिन वा ३ दिनले देखाउदैन अझ नेपाल जस्तो भर्खर बामे सर्दै गरेको बजारमा त्यो पटक्कै लागु हुदैन ।

मंगलवार २५ अंकले बढेपछि नेप्से १५ सय विन्दु पार गर्दै तीन दिनमा ५६ अंकले उक्लेको छ । बजार संग जोडिएका व्यक्तिहरुको भनाइलाई मान्ने हो भने बजार न्युनत्तम तहमा आइ पुगेको, शेयर मूल्य प्राय कम्पनीहरुको एक तिहाई सम्म झरेको र क्रमशः लगानी बढिरहेकोले बजार वृद्धिको दिशामा अगाडी बढेको बताउछन् ।

यहाँ जोड्न चाहेको कडी के हो भने माथि उल्लेख गरे जस्तै बजारले गति लिएको भनेर यो ३ दिनको चढाईको भरमा दिशा तय गर्न मिल्दैन । भन्नेले १३ दिन लगातार बजार झर्दै गर्दा अब १००० विन्दु सम्म झर्ने तर्क अघि सारेकै हून । बजार लगानीकर्ताको मनोभावनाले चल्ने गर्छ त्यसैले त कुनै एक कम्पनी कसैको नजरमा माथि चढ्ने सम्भावना रहन्छ भने कसैले तल झर्ने संकेत देख्ने गर्छन ।

बजारलाई प्रभावित पार्ने थुप्रै तत्वहरु हुन्छन (आधारभूत र प्राविधिक) र ति तत्वहरुलाई विश्लेषण गर्ने आ-आफ्नै तरिका । 

सोमवार सेयर ब्रोकर र मर्चेन्ट बैंकरहरुलाई बजार बारे बोल्न धितोपत्र बोर्डले रोक लगाएको छ । यि क्षेत्रका अधिकारीहरुको भनाईले बजार प्रभावित हुने गरेको भन्दै बोर्डले यसमा रोक लगाएको हो । नया तथा पुराना लगानीकर्ताहरुसंग प्रत्यक्ष रुपमा सम्पर्कमा रहने यस्ता व्यक्ति तथा संस्थालाई बजार बारे बोल्न रोक लगाउनु उचित हो कि त्यसलाई थप व्यवस्थित बनाउनु पर्ने हो त्यो त नियमन निकायलाई बढी ज्ञात होला ।

यस साता बजारमा सेयरको माग बढ्न थालेको देखिन्छ । तर अहिल्यै बजारले उकालो गति लिएको भने पक्कै पनि होइन । १८८१ को उच्चत्तम विन्दु टेकेर तल झरेको नेप्से १२ सय बिन्दुसम्म पनि झरी सकेको छ भने त्यहाबाट फर्किदै आएको छ तर अघिल्लो पटकको १८८१ को विन्दु भने भेटेको छैन । मंगलवार भने बजारमा ७५ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।