प्रकाशित: २०७४ कार्तिक ३०
लैङ्गिक हिंसा विरुद्ध ‘रेड सारी’ अभियान

Image

-कल्पना घिमिरे

न्युर्योक/अमेरिका

महिलामाथि हुने लैङ्गि र यौनजन्य हिंसा बिरुद्धको आवाज उठाउँदै न्युजर्सी र न्युर्योकका महिलाहरु रातो सारी लगाएर एक्यवद्ध भएका छन् । अधिकारकर्मी डाक्टर विष्णुमाया परियारको नेतृत्वमा न्युजर्सीमा आइतबार ‘रेड सारी इभेन्ट’ को आयोजना गरिएको थियो । 

न्युजर्सीमा रहेको केयर पोइन्ट हेल्थ ग्रुपको हड्सन स्पिक अगेन्स सेक्स्युअल भ्वाइलेन्स अन्तरगत रहेको दक्षिण एसियाली विभागले सञ्चालन गर्दै आएको ‘बोलो बहन’ प्रोजेक्ट अन्तरगत रातो सारी अभियान चलाइएको बोलो बहन प्रोजेक्टकी प्रमुख परियारले जानकारी दिइन् । 
यस प्रोजेन्ट अन्तरगत घरेलु र यौनजन्य हिंसामा परेका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गरिदै आएको छ । हिन्दी, बंगाली, पञ्जाबी, गुजराती भाषामा सेवा दिदै आएको उक्त कार्यक्रमले अब नेपाली भाषामा पनि सेवा सुचारु गर्ने भएको परियारले जानकारी दिइन् । 
‘आफुलाई परेको समस्याबारे बोल भन्ने सन्देश दिदै हिन्दी भाषामा ‘बोलो बहन’ राखिएको हो’ परियारले भनिन्, ‘हामीले यस कार्यक्रम अन्तरगत १२ वर्ष माथिका घरेलु र यौनजन्य हिंसामा परेका महिला र पुरुष दुबैलाई उद्धार गर्ने, सामाजिक परामर्श गर्दै सम्पूर्ण कानुनी परामर्श दिँदै आएका छौं ।’ 
दक्षिण एसियाका महिलाले कस्ता किसिमका हिंसा खेपिरहेका छन् भन्ने बारे पुलिस डिपार्टमेन्ट, अदातलका जर्जहरु र बिभिन्न संघसंस्थालाई ‘कल्चरल्ली सेन्सिटिभिटि ट्रेनिङ’ दिइरहेको पनि उनले जानकारी दिइन् । ‘यहाँको सिस्टम र कानुन नबुझेर, भाषाको समस्याले गर्दा, इमिग्रेसन स्टाटस गुम्ने डरले महिलाहरु अझै पनि आफ्नो समस्याबारे रिपोर्ट गर्न डराइरहेका छन्’ उनले थपिन्, ‘कसैले रिर्पोट गरेर आफु अफ्ठेरोमा परेको बताएमा हामीले तुरुन्तै उद्धार गरेर न्यायका लागि कानुनी प्रक्रिया सुरु गर्छौ ।’ उनका अनुसार पीडितलाई सबै किसिमका सेवा प्रदान गर्नका लागि यौनजन्य हिंसा सम्बन्धी तालिम लिएका नर्सहरु, पुलिस अफिसर र अधिकारकर्मीहरु मिलेर बनाइएको विशेष युनिटले  काम गरिरहेको छ । 
अमेरिकामा रहेका आप्रवासी महिलालाई अझैपनि घरेलु हिंसा बारे थाहा छैन । हिंसा खेपिरहेका महिला पनि कसरी सहयोग पाइएला भन्ने बारे अनविज्ञ छन् । ‘हामीले यी बिभिन्न विषयबारे जानकारी दिने उदेश्यले रातो सारी कार्यक्रम गरेका हौं’ उनले भनिन्, ‘नेपाली संस्कृति अनुसार रातो सारीमा महिलाले आफुलाई शक्तिशाली महसुस गर्ने भएकाले रातो सारी लगाएर हिंसा बिरुद्ध एक्यवद्ध भएका हौं ।’ कार्यक्रममा न्युर्योक न्युजर्सीका नेपाली महिला, दक्षिण एसियाली लगायत अमेरिकन महिलाहरु समेत रातो सारीमा उपस्थित भएका थिए भने पुरुषहरुको पनि सहभागिता थियो ।