प्रकाशित: २०७४ कार्तिक ३०
स्वदेशी खपत बढेकाले कफी निर्यातमा कमि

Image

-विश्व न्यूज संबाददाता

कार्तिक ३० । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार,आर्थिक बर्ष २०७३/७४ मा ५ करोड ४ लाख बराबरको ९९ मेट्रिक टन कफी आयात भएको छ भने ८ करोड ४५ लाख बराबरको ९५ मेट्रिक टन कफि निर्यात भएको छ । कफी रोपणको क्षेत्रफल र उत्पादन तुलनात्मक रुपमा बढेपनि लक्ष्य अनुसारको उत्पादनमा वृद्धि हुन नसकेको कफी विकास बोर्डले नै स्वीकार गर्दै आएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा  २६ सय ४६ हेक्टर क्षेत्रफलमा कफी  रोपण गरिएको छ । यसबाट ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएको छ । यद्यपि स्वदेशमा बढ्दो खपतका कारण विदेश निर्यातमा भने उल्लेख्य प्रगती हासिल हुन नसकेको हो । १३ औ राष्ट्रिय कफी दिवसको पुर्व सन्ध्यामा विहिबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बजारको माग अनुसार नेपालमा कफि उत्पादन हुन नसकेकोमा चिन्ता व्यक्त गर्यो ।

बोर्डका अनुसार अहिले अर्गानिक प्रमाणिकरण भएको कफी प्रति केजी ४ सय १५ र अर्गानिक प्रमाणिकरण नभएको कफी प्रतिकेजी ४ सय रुपैया तोकिएको छ । यसैबीच बोर्डले विगत बर्ष जस्तै यस बर्षको मंसिर १ गते राष्ट्रिय कफी दिवस मनाउदै छ । १३  औ राष्ट्रिय कफी दिवसको नारा आर्थिक सम्वृद्धिको लागि गुणस्तरीय कफी उत्पादन, सरकारी निजी र सरहकारी क्षेत्रको राष्ट्रिय अभियान भन्ने तय गरिएको छ ।