प्रकाशित: २०७४ मंसिर ०१
हस्तकला मेला आजबाट राजधानीमा सुरु हुँदै

Image

-विश्व न्यूज संबाददाता

मंसिर १ ।  काठमाडौँ भृकुटीमण्डपमा १५ औ हस्तकला व्यापार मेला तथा १३ औं हस्तकला प्रतियोगिता आज मंसीर १ गतेदेखि सुरु हुदै छ । राष्ट्रपति विद्या भण्डारीले उदघाटन गर्ने उक्त मेलामा २ सय भन्दा बढि स्टल रहनेछन ।

 

नेपाल हस्तकला महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरी १५ औं हस्तकला व्यापार मेला तथा १३ औं हस्तकला प्रतियोगिता सुरु हुने मिति र स्थानबारे जानकारी गराउदै मेलामा उत्कृष्ट हुने स्टललाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको जनाएको छ । त्यसैगरी हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार,  दोस्रोलाई ३० हजार र तृतिय हुनेलाई २० हजार नगदसहित सम्मान गर्ने कार्यक्रम पनि रहेको जानकारी दिइएको छ ।

आयआर्जन गर्ने मुख्य स्रोतको रुपमा हस्तकलालाई विस्तार गर्न मेला आयोजना गरिएको नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए । नेपालमा वार्षिक १२ अर्ब बराबरको हस्तकलाका सामग्री विदेश निर्यात हुने महासंघको डाटा छ ।

 

५ दिनसम्म चल्ने मेलामा १ लाखभन्दा बढि अवलोकनकर्ता आउने र करिव १० करोड बराबरको कारोबार हुने अपेक्षा पनि गरिएको छ ।