प्रकाशित: २०७४ मंसिर ०१
तरलता व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक

Image

-विश्व न्यूज संबाददाता

मङ्सिर १ । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछी नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।  राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो ।

तरलता कम भएको र अन्तर बैंक ब्याजदर बढेको भन्दै तत्काल तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले ५ प्रतिशत ब्याजदरमा २ साताका लागि उक्त रकम बजारमा पठाउन लागेको हो । बैंकका अनुसार ब्याज दर करिडोर लागु भएको दिन बुधबार मात्रै ३ प्रतिशत ब्याजदरमा १५ अर्ब रुपैयाँ बैकिङ प्रणालीबाट प्रशोचन गरेको थियो ।

ब्याजदर करिडोर लागु गर्न दुई हप्ता अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने सम्बन्धी कार्य्विधि गत बुधबारदेखि कार्यान्वयनमा आएको हो ।  वित्तीय बजारमा तरलताको अभाव देखिन थालेपछि २० अर्बको रिपो जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ५ प्रतिशत भन्दा बढी ब्याज प्रस्ताव नगर्न भनेको छ । आगामी मंसिर १५ गते रिपोको रकम परिपक्व हुने छ ।