प्रकाशित: २०७४ मंसिर ०४
वकिलसँग कानुनका कुरा




वकिलसँग कानुनका कुरा
 
रमेश श्रेष्ठ
म सधैं विश्वसन्देशमा प्रकाशित कानूनी स्तम्भ पढ्ने गर्छु । यसरी नेपाली समाजलाई निशुल्क कानूनी सल्लाह दिनुभएकोमा रमेश श्रेष्ठ र यस पत्रिकालाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु । यसपटक मेरो आफ्नै जिज्ञासा भएकाले तपाईंलाई यो प्रश्न राख्दै छु । म सन् २०१० मा नेपालबाट बी–२ भिसा लिएर आएको थिएँ । ६ महिनाको बी–२ भिसा सिद्धिएपछि मैले त्यसै अमेरिकामा बसोबास गरिरहें । मैले कुनै पनि निवेदन पेश गरेको छैन । सन् २०१५ देखि टीपीएसमा रहेको छु । ३ महिनाअघि टीपीएसका आधारमा एडभान्स पेरोल डकुमेन्ट लिएर नेपाल गएर आएँ । नेपालमा २ महिना मात्र रहेर अमेरिका फर्केको छु ।
मलाई अहिले असाइलमको निवेदन पेश गर्न सकिन्छ कि भन्ने जिज्ञासा जागेको छ । असाइलमको कानूनअनुसार अमेरिकामा प्रवेश गरेको दिनदेखि १ वर्षभित्र असाइलमको निवेदन पेश गर्नुपर्ने भएकाले म यसपालि अमेरिकाको प्रवेश गरेको ३ महिना मात्र भएको छ । त्यसैले मेरो प्रश्न यो छ कि के
मैले असाइलमको निवेदन पेश गर्न सक्छु होला ? विभिन्न व्यक्तिहरुबाट विभिन्न किसिमको सल्लाह पाएकाले धेरै अन्योलमा परेको छु । सही सल्लाहको अपेक्षासहित मेरो जिज्ञासा यस पत्रिकामार्फत राखेको छु ।
– प्रकाश, टेक्सस
प्रकाशजी यो कानूनी स्तम्भको स्थायी पाठक हुनुभएकोमा धन्यवाद । टीपीएस स्टाटसमा रहनुभई नेपाल पनि एकचोटि भ्रमण गरेर आउनुभएकोमा तपाईंले राम्रो गर्नुभएको छ । तर, एडभान्स पेरोलका आधारमा पुनः अमेरिका प्रवेश गर्नुभए पनि असाइलमको  नूनअनुसार तपाईंको ३ महिनाअघिको प्रवेशलाई नयाँ प्रवेशको रुपमा मानिंदैन । अर्थात् तपाईं अमेरिकामा भर्खरै प्रवेश गरे तापनि एडभान्स पेरोलको माध्यमबाट प्रवेश गरेकोलाई नयाँ प्रवेश वा इन्ट्रीको रुपमा हेरिंदैन । त्यसैले तपाईं ३ महिनाअघि मात्र प्रवेश गर्नु भए तापनि तपाईंको सन् २०१० को प्रवेशलाई नै अमेरिकामा प्रवेश गरेको मितिका रुपमा लिइनेछ । यसको मुख्य कारण के हो भने धेरै समय वा वर्ष अमेरिकामा बसोबास गरेर टीपीएस वा अन्य स्टाटसको आधारमा एडभान्स पेरोल लिएर ९० दिनभन्दा कम समय अमेरिका बाहिर बसी पुनः प्रवेश गरेको अवस्थामा सो डिपार्चर वा अमेरिका छाडी गएकोलाई वास्तविकरुपमा अमेरिकाबाट प्रस्थान गरेको
मानिंदैन । त्यसैले ९० दिनभन्दा कम बाहिर रही अमेरिका पुनः प्रवेश गरे पनि पहिलेको प्रवेश गरेको मिति नै वास्तविक अमेरिकामा प्रवेश गरेको मितिका रुपमा कायम रहनेछ । त्यसैलृे तपाईं अहिले अमेरिका पुनः प्रवेश गरेको ३ महिना मात्र भए पनि असाइलमको प्रयोजनका लागि तपाईंको प्रवेश मिति सन् २०१० नै रहनेछ । त्यसैले असाइलमको १ वर्षभित्र निवेदन पेश गर्नुपर्ने नियमको पालना गर्न
असम्भव हुनेछ ।