प्रकाशित: २०७४ मंसिर ०६
बहुचर्चित न्यूयोर्क महापुराणमा प्रवासी नेपाली मञ्च मात्रै देखियो इमानदार, उठ्ला त कबुल रकम ?

Image

-कल्पना घिमिरे
न्यूयोर्क । न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाइटीको आयोजनामा मन्दिर निर्माणार्थ बहुचर्चित महापुराण सम्पन्न भएको तीन महिना बितेको छ । नेपालीभाषीहरुको बाक्लो बस्ती न्यूयोर्क, क्विन्सस्थित रिजउडमा नेपाली सामुदायिक भवन र दुर्गा मन्दिर निर्माणका लागि महापुराणको दौरान प्रचार गरिएअनुरुप संकलन हुनुपर्ने डेढ मिलियन डलरमध्येबाट कबुल गरिएअनुसार रकम उठ्न सकेको छैन । महापुराणमा आएर ठूलो रकम कबुल गर्ने प्रवासी नेपाली मञ्चबाहेक अन्यले अहिलेसम्म थोरै रकमसमेत बुझाएका छैनन् ।
 
गत अगष्ट महिनाको २३ देखि २९ तारिखसम्म रिजउड नेप्लिज सोसाइटीले दुर्गा मन्दिर र नेपाली सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले ‘न्यूयोर्क महापुराण’ आयोजना गरेको थियो । न्यूयोर्कको उडसाइडस्थित सत्यनारायण मन्दिरमा लगाइएको उक्त भागवत महापुराणको प्रमुख उद्देश्य नै रकम संकलन गर्नु थियो ।
उक्त महापुराण सम्पन्न गर्नका लागि नेपालबाट वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेललाई  झिकाइएको थियो भने पण्डितकै पहलमा तत्काल केही नगद र चेक गरेर १ लाख १६ हजार ५ सय ८६ डलर १२ सेन्ट पुराणकै दौरान चन्दा संकलन गरिएको थियो । एउटै संस्थाले १ लाख २५ हजार डलरसम्म उधारो चन्दा कबुल गरेर १४ लाख ३६ हजार २ सय ५६ डलर ६५ सेन्ट आयोजक संस्थाले रकम संकलन गरेको थियो । तर, पुराण सम्पन्न भएको तीन महिना बितेको छ । हालसम्म प्रतिबद्धता गरेअनुसार अधिकांशले रकम बुझाएका छैनन् । नेकपा एमालेको प्रवास सगठनका रुपमा परिचित प्रवासी नेपाली मञ्चले भने अघिल्ला महिना ४ हजार अमेरिकी डलर सोे साइटीको खातामा जम्मा गरेको थियो भने यो महिनाको किस्तावापत मञ्चले अर्को ४ हजार अमेरिकी डलर पनि पठाइसकेको छ । मञ्चले १ लाख ११ हजार १ सय ११ अमेरिकी डलर दिने कबुल गरेको थियो ।  दुई वर्षभित्रमा मन्दिर निर्माण गरिने र दाताहरुले कबुल गरेको रकम पनि सोही समय अवधिभित्रै दिइसक्नुपर्ने सम्झौता थियो । त्यसैअनुसार प्रवासी नेपाली मञ्चले २४ महिनामा बुझाइसक्ने गरी मासिक पर्न आउने रकम बझाइरहेको महापुराणका संयोजक राजेश भट्टले जानकारी दिए ।
दाताहरुले २४ महिनाभित्र मासिक, त्रैमासिक, चौमासिक गरी विभिन्न किसिमले रकम बुझाउन सक्नेछन् । तर, सँगसँगै रकम दान कबुल गरेका जनसम्पर्क  समिति अमेरिका, सोसाइटीका पूवूअध्यक्ष श्रीप्रसाद पराजुली, गैरआवासीय नेपाली संघ, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, समाजसेवी वेद खरेल, रिजउड नेपाली समाजका संस्थापक अध्यक्ष मोहन ज्ञवाली, वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी, केशव सेढाईं, जनक पराजुली, अधिवक्ता रमेश श्रेष्ठलगायत थुप्रैले कबुल गरेको रकममध्येको थोरै हिस्सा पनि हालसम्म जम्मा नभएको सोसाइटीले जानकारी दिएको छ । यसै विषयमा महापुराणसँग सम्बद्ध भुवन अधिकारी भन्छन्– ‘जनसम्पर्क समिति अमेरिका, एनआरएन अमरिकासँग सम्बद्ध  थुप्रै दाताहरु  नेपालको निर्वाचन र एनआरएन अधिवेशनका कारण नेपाल
जानुभएकाले तीन महिनासम्म उहाँहरुबाट जम्मा हुँन नआएको होला । उहाँहरुले छिट्टै बुझाउने जानकारी पनि दिनुभएको छ ।’
 
महापुराणका बेला जनसम्र्पक समितिले १ लाख २५ हजार कबुल गरेको थियो भने सोसाइटीका पूर्वअध्यक्ष श्री पराजुलीले १ लाख १ हजार १ सय ११, एनआरएन अमेरिकाका अध्यक्ष पौडेलले १० हजार अमेरिकी डलर दिने प्रतिबद्धता गरेका थिए । साथै, टेक्ससका व्यवसायी गौरी जोशीले ६१ हजार १ सय ५० अमेरिकी डलर दिने घोषणा गरेका थिए । त्यतिबेला जोशीले अमरिकाका ११ वटा शहरमा स्थापनाको क्रममा रहेका नेपाली कम्युनिटी सेन्टर पत्य्रेकलाई  ५ हजार ५ सय ५५ का दरले सहयोग गर्ने जनाएका थिए । समाजसेवी वेद खरेलले ६६ हजार ६  सय ६६, रिजउड नेपाली  समाजका संस्थापक अध्यक्ष मोहन ज्ञवालीले ५० हजार, वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले ३५ हजार, केशव सेढाईंले ३५ हजार, जनक पराजुलीले २२ हजार २ सय २२, अधिवक्ता रमेश श्रेष्ठले २० हजार लगायत थुप्रैले दान कबुल गरेका थिए ।
यिनीहरुमध्ये कसैबाट पनि हालसम्म रकम संकलन हुन सकेको छैन । सुमन शाहले ५१ हजार १ सय ११ दान कबुल गरेकोमा १० हजार डलर महापुराणकै बेला बुझाएका थिए । संस्थाकै उपाध्यक्ष तथा महापुराणका संयोजक राजेश भट्टले ७५ हजार दिने घोषणा गरेका थिए । उनी आफैंले पनि हालसम्म रकम बुझाउन सकेका छैनन् । छिट्टै रकम बुझाउने प्रक्रियामा रहेको बताउँदै उनले भने– ‘चार महिनाको रकम एकैचोटी डिसम्बरको ३१ सम्ममा संस्थाकों खातामा हाल्दैछौ ।’ मैले सबैलाई चाँडो रकम बुझाउन अनुरोध गरेको छु । फोनबाट ताकेता गर्ने काम पनि भइरहेको छ ।’ उनका अनुसार डिसेम्बर महिनाभित्र रकम जम्मा गर्नेहरुले ट्याक्स फाइल गर्न मिल्ने भएकाले पनि डिसेम्बरभित्रै बुझाउन भनेका हौं । सासाइटीले संस्थाका पुर्वअध्यक्ष पराजुलीलाई चिटठी पठाएर रकम बुझाउन अनुरोध गरेको छ । दाताहरुले चेक, नगद, क्रेडिट कार्ड, अकाउण्टमेन्ट  सिस्टममाफत तिर्न सक्ने र डिसेम्बर महिनाभित्र पैसा जम्मा गर्न सके ट्क्याक्स फाइलमा सजिलो हुने जानकारी दिदै अध्यक्ष पराजुलीलाई पत्र पठाइएको  छ ।  जनसम्पर्क समितिमा आबद्ध धेरेजसो नेपालमा भएकाले पनि रकम उठाउन असहज भएका महापुराणका संयोजक भट्टले बताए ।
‘नेपालमा चुनाव लागेकाले गर्दा एनआरएनको निर्वाचनमा गएका धेरेजसो व्यक्ति फर्कन पाएका छ ैनन्,’ भट्टले भने – ‘जनसम्पर्कले  दान कबुल गरेको रकम बुझाउने जिम्मेवारी दिएका वेद खरेल पनि नेपालमै हुनुहुन्छ  । उहाँहरुसँग कुरा गर्न पाएको छैन  नेपालबाट फर्केपछि बुझाउनु होला ।’ दाताहरुल अब २० महिनाभित्र रकम बुझाइसक्नु पर्नेछ । रकम संकलनका लागि सोसाइटीमा एउटा छुट्टै टोली बनाएर काम गर्नेबारे छलफल भएको थियो ।
टोलीमा को–को व्यक्ति सहभागी गर्ने भन्ने विषयमा कुरा नमिलेपछि संस्थाको कार्यसमितिका १३ जनाकै समूहले काम गर्ने र त्यसको नेतृत्व संस्थाका कोषाध्यक्ष तुलसीराम आचार्यलाई दिने सहमति भएको थियो । त्यसैअन्तर्गत काम भइरहेको छ । सम्पर्णू दाताहरुलाई रकम चाडो बुझाइदिन पनि अनुरोध गर्दै फोन गरेर ताकेता गर्न सुरु गरिएको जानकारी दिए । मन्दिर र भवन निर्माणका लागि हाल भवनको नक्सा पास गराउने काममा आफूहरु सक्रिय रहेको सासाइटीका अध्यक्ष रविकिरण कोइरालाले जानकारी दिए । ‘नक्सा बनाउने, सिटीबाट पास गराउने, माटोको जाँच गर्ने सर्वे गर्ने लगायतका लागि ५ वटा आर्किटेक्टहरुबाट प्रपोजल आएको छ,’ कोइरालाले भने, ‘७५ हजारदेखि १ लाख ३० हजार डलरसम्मको कोटेसन परेको छ ।’ भवन र मन्दिरको नक्सा कस्तो बनाउनेबारे छानबिन गर्न ३ जना नेपाली इन्जिनियरहरुको टोली बनाइएको छ । सूर्य लम्साल, नारायण बराल र ओम ढोडारीको टोलीले नक्साबारे अध्ययन गरिरहेको कोइरालाले जानकारी दिए । त्यसमध्ये इण्डियन आर्किटेक्ट शिवानीको ७६ हजार डलरको कोटेशनलाई लिनेबारे छलफल भइरहेको भट्टले जानकारी दिए । उनले एक हप्ताभित्रै सबै टुङ्गो लाग्ने पनि बताए । नक्सा पासका काम हेर्न केही महिना लाग्ने छ । नक्सा पास भइसकेपछि मात्रै भवन निर्माणका लागि संस्थाले कन्स्ट्रक्सन कम्पनीलाई जिम्मा लगाउनेछ ।
कबुलेको रकम समयमै उठेन भने संस्थालाई भवन निर्माणको काम थाल्न समस्या पर्छ । तत्काल जम्मा भएको केही रकमले नक्सा पासको काम सम्पन्न गरिनेछ । तर, नक्सा पास हुनेबित्तिकै कन्स्ट्रक्सन फी बुझाउन पनि संस्थासँग पर्याप्त रकम छैन । महापुराण उाठाउने रकमबारे  विभिन्न विवादहरु आए पनि आफहरुले पण्डित दिनबन्धु पोख्रेललाई २० हजार डलर दिएको अध्यक्ष कोइरालाले जानकारी दिए । निकै तामझाम र तयारी गर्दै यस पटक रिजउडमा सामुदायिक भवन र मन्दिर निर्माण गरि छाड्ने योजना मुताबिक उधारो चन्दा १४ लाख ३६ हजार २ सय ५६ अमेरिकी डलर र हातैमा संकलन भएको १ लाख १६ हजार ५ सय ८६ मध्ये ७४ हजार २ सय ५८ डलर ४९ सेन्ट पुराण खर्चको विविध शीर्षकमा सोसाइटीले खर्च गरेपछि सोसाइटी अहिले बक्यौता रकम उठाउन व्यस्त देखिएको हो । संस्थाका कोषाध्यक्ष तुलसीराम आचार्यका अनुसार महापुराण पछि दाताहरुबाट आएका सानो –ठूलो रकम गरी करिब ३ लाख अमरिकी डलर संस्थाको  खातामा जम्मा भएको छ ।
‘कबुल गरेका दाताहरु सम्पर्कमा हुनुहुन्छ । केहीले रकम जम्मा गरिसक्नुभएको छ भने कही जम्मा गर्ने क्रममा हुनुहुन्छ,’ आचार्यले भने, ‘दाताहरुलाई डिसेम्बरभित्रै कबुल गरेको रकमको ठूलो हिस्सा बुझाउन भनेका छौं । २० महिनाको टार्गेट हो । यो समय अवधिमा सबैले बुझाइसक्नुहुनेछ । सानोतिनो रकम भने खातामा जम्मा भइरहेको छ ।’
नेपाली आप्रवासीको बाक्लो बस्ती रहेको न्यूयोर्कमा हालसम्म नेपाली समुदायको आफ्नै मन्दिर र सामुदायिक भवन छैन । जसका कारण सानातिना कार्यक्रम गर्नुपर्दा पनि नेपालीहरुले विभिन्नखाले अप्ठेरो भोग्दै आइरहेका छन् । नेपाली मन्दिर र भवन बनाउने उद्देश्यले सन् २०१० मै सोसाइटीले महापुराण लगाएर रकम संकलन गरेको थियो । सन् २०१३ मा संकलित रकमले मन्दिर निर्माणका लागि आवश्यक जमिन खरिद गरेको थियो ।