समाचार

श्रमिक लक्षित प्याकेज ल्याउ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिकलई लक्षित गरी आर्थिक प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

१३१औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका मजदुरलाई शुभकामना दिँदै उनले यस्तो माग गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत उल्लेख गर्दै उनले यतिबेला संसारभरका श्रमजीवि मजदुरहरुको रोजगारी गुमिरहेको बताएका छन् ।

दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न उनले सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।

देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पु¥याउनुपर्ने कर्तव्य सबैको भएको समेत उनले उल्लेख गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठघण्टे कार्यदिनका लागि गरिएको आन्दोलनको स्मरण गराउने दिनको रूपमा हरेक वर्ष मे १ मा विश्वभर अन्तरराष्ट्रिय मजदुर दिवस मनाइन्छ।

नेपालमा विसं २००३ मा विराटनगर जुट मिलबाट श्रमिक आन्दोलन शुरु भएको हो । उनले विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनमा श्रमजीवी जनताको बलिदानीपूर्ण संघर्षलाई समेत स्मरण गरेका छन् ।