समाचार

ताप्लेजुङ बजारमा रातभरी आगलागी, ७ घर जले

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार पुनः एकपटक आगलागीको चपेटामा परेको छ । शुक्रबार राती करीव १० बजेबाट शुरु भएको आगो रातभरसम्म बलिरह्यो । यसले ठूलो भौतिक क्षति गरेको छ । यद्दपी मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

१० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेसम्म पनि रहेको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीले सात वटा घर जलेर नष्ट भएका छन् ।

पाँच वटा घुम्ती पसलसमेत जलेका छन् । भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । ट्याक्सी काउन्टर लाइनमा रहेको यस पसलबाट यहाँका नयाँ बनेका घरसमेत जलेका छन् ।

दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घरहरुमा सल्किएको आगोले घर भित्रका ग्यास सिलिन्डर विस्फोट हुँदा रातको समयमा अझ बढी जोखिम बढेको प्रहरीले जनाएको छ ।

आगलागी फैलन नदिन केही घर सेनाले आफैले भत्काउनु परेको थियो । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार नियमित आगलागीका घटनाबाट पिडित क्षेत्र हो ।

यहाँ २०७१ सालमा लागेको आगोले ३५ घर जलेर नष्ट भएका थिए ।