समाचार

'प्रधानमन्त्रीका मान्छे'ले धम्की दिएको सांसद भट्टको दावी

काठमाडौं । राष्ट्रिय सभा सांसद शारदा भट्टले नेकपामा विवाद चर्किरहेका बेला बालुवाटारले चलाएको हस्ताक्षर अभियानमा सहभागी नभए ‘जे पनि हुन सक्छ’ भन्दै प्रधानमन्त्रीका मान्छेले धम्की दिएको दावि गरेकी छिन् ।

शुक्रबार र शनिबार विभिन्न नेपाली संचारमाध्यमसँगको बयानमा उनले यस्तो दावि गरेकी हुन् । उनका अनुसार नेकपा केन्द्रीय सदस्य गौरी ओलीले फोनबाट यस्तो धम्की दिएको उनको भनाई छ ।

ओली प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । प्रधानमन्त्रीलाई ढाल्ने तयारी भएको र एउटा हस्ताक्षरले ठूलो काम गर्ने भन्दै ओलीले भट्टलाई हस्ताक्षरका लागि दवाव दिएको भट्टले संचरमाध्यमसँग बताएकी छिन् ।

आफुलाई सन्चो नभएकाले हस्ताक्षर गर्न नगएको बताउँदा समेत ओलीले चर्को स्वरमा गालीजन्य भाषा प्रयोग गरेको उनले बताएकी छिन् ।

आफु राष्ट्रिय सभाको सदस्य भएको र त्यहाँ प्रधानमन्त्रीलाई ढाल्ने र जोगाउनेमा कुनै भूमिका नहुने बताउँदा समेत ओलीले संयमता अपनाउन नसकेको उनको भनाई छ । ७० वर्षिय सांसद भट्टलाई ओलीले भोलीका दिनमा जे पनि हुने भन्दै धम्की दिएको उनको दावी छ ।

नेपालमा यतिबेला प्रधानमन्त्रीमाथि दवाव बढेको छ । विगतका सहमति पालना नगरी दुबै पद ओगटेर बसेका उनीमाथि एक व्यक्ति एक पद लागु हुने पर्ने दवाव छ ।

त्यसमाथि उनले पार्टीमा सल्लाह नगरी सरकारबाट धमाधम लिएका निर्णय जनताबीच अलोकप्रिय बनेपछि नेताहरु ओलीको विकल्प खोज्ने अभियानमा छन् ।

यता, प्रधानमन्त्री भने आफ्नो पद जोगाउन हरसम्भव प्रयत्न गरिरहेका छन् ।