स्वास्थ्य

३४ लाखमा पुग्यो कोरोना संक्रमण

काठमाडौं । विश्वभर कोरोना महामारीबाट संक्रमित हुने मानिसको संख्या ३४ लाख पुगेको छ । ३३ लाख ९८ हजार ४ सय ५८ जना मानिसलाई यस रोगले संक्रमित बनाइसकेको तथ्यांक छ ।

शनिबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २ लाख ३९ हजार ४४३ पुगेको छ । ३१ डिसेम्बरमा चीनको बुहानबाट शुरु भएको यो रोगको संक्रमण विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा यसको संक्रमण छ । १० लाख ८० हजार १०१ जना मानिस भने उपचारपछि घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको ज्यान गएको छ । यस अवधिमा ९४ हजार ५३७ संक्रमित थपिएका छन् ।

कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति अमेरिकामा भएको छ । यहाँ ६६ हजार मानिसको ज्यान गइ सकेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३५ हजार ९९२ जना नयाँ संक्रमित थपिए ।

यहाँ संक्रमित ११ लाख ३१ हजार १५ पुगेको छ । नेपालमा ५९ जनाका संक्रमण भएको छ । शुक्रबार मात्र नयाँ २ बिरामी भेटिएका हुन् ।

१६ जना भने निको भएर घर फर्केका छन् ।