विज्ञान प्रविधि

कोरोनाविरुद्धको लडाईमा डा. रुना झाको अन्तराष्ट्रिय चर्चा

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध संसार लडिरहेको छ। विश्वभरका लाखौं डाक्टर र नर्स यस रोगलाई परास्त गरी मानव जीवनको रक्षामा अहोरात्र खटिएका छन् ।

सुरक्षाकर्मी, सफाईकर्मी र अन्य प्रत्यक्ष संलग्नको सूचि लामो छ । यस अभियानमा खटिएका मध्ये नेपालकी चेली डा. रुना झाको नाम यतिबेला अन्तर्राष्ट्रिय चर्चामा आएको छ ।

कोभिड १९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघ, यूएन वुमेनले सार्वजनिक गरेको छ ।

जसमा उनी अटाउन सफल भएकी हुन् । डा. झा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक हुन् ।

नेपालमा कोभिड १९ परीक्षणमा उनले नेतृत्व गरिरहेकी छिन्।

देशभरबाट आउने नमुनालाई अन्तिम परीक्षण गरी कोभिड भए नभएको प्रमाणित गर्ने निकायमा रहेर उनले निडरका साथ निर्वाह गरिरहेको भूमिकाले अन्तर्राष्ट्रिय चर्चा पाएको हो ।

उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्छ । रातमा अबेरसम्म प्रयोगशालामा बसेर काम गर्नु चानचुने हिम्मतले पुग्दैन ।

प्राविधिक काममा आफै खटिने उनले आफ्नो टोलीको यातायात, खानेकुरा र अन्य बन्दोवस्तीको व्यवस्थापनमा समेत जुट्नुपर्छ ।

चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनबाट उनको टोलीले परीक्षण थालेको थियो त्यसयता निरन्तर उनी काममा जुटेकी छिन् ।

यस सूचिमा जोर्डनमा नयाँ प्रविधिको प्रयोग गरी चर्चामा आएका अमल अल महाईराह र महाडील दबाइबेहको नाम रहेको छ ।

चीनको ग्रामीण क्षेत्रमा सार्वजनिक सेवा प्रदान गर्ने यान शेङ्लियानको नाम समेत यस सूचिमा जोडिएको छ ।

काजकस्तानमा हिंसामा परेकालाई सहयोग गर्ने डिना स्माइलोभाको नाम सूचीमा रहेको छ ।

क्यारेबियन समुदायको आशा जीवित राख्ने प्रयासमा र्‍याङ्किया हेनरीको नाम समेत यस सूचिमा जोडिएको छ ।