स्वास्थ्य

महोत्तरीमा ११ जनाको मृत्युको कारण अझै खुलेन

महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा पछिल्लो केही दिनयता मानिसहरु बिरामी पर्ने र ज्यानै जाने भइरहेको छ ।

नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार यस स्थानमा अज्ञात रोगका कारण मर्ने मानिसको संख्या ११ पुगेको हो ।

शनिबार बर्दिवास १२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा ६ जमुनियाँका ४८ वर्षीय पलट साहको ज्यान गएको छ ।

यसलाई जिल्ला प्रहरी कार्यालय महोत्त्तरीले समेत पुष्टी गरेको छ ।

बर्दिवास, १२ मेघरोल र भङ्गाहा, ७ मेघनाथ गोरहन्नामा गत मंगलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ।

मृत्यु हुनेमा बर्दिवास, १२ का चार, भङ्गाहा, ७ का छ र भङ्गाहा, ६ का एक जना छन् । ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका हुन ।

भङ्गाहा नगरपालिकाका उच्च अधिकारीहरुले घरेलु मदिरा सेवनका कारण स्थानीयको ज्यान गएको हुन सक्ने अनुमान गरिएको प्रतिक्रिया दिएका छन् ।

शव परीक्षण र मृत्युको कारण पत्ता लगाउन चिकित्सकहरु जुटिसकेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट शनिबार डा. अमृत पोखरेल, विश्व स्वास्थ्य सङ्गठनका डा. सुदीपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली बस्तीमा पुगिसकेको छ ।

टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षमा समेत अनुसन्धान गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ संक्रमण हो या होइन यकिन गर्न स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि प्रयोगशाला समेत पठाएको छ ।

मृतकहरुको आरडीटी जाँच परीक्षणमा भने कोरोना देखिएको छैन । यो थारु, मुसहर, चमार, बाँतरसहित जनजाति र दलित समुदायको उच्च जनघनत्व रहेको क्षेत्र हो ।

यस क्षेत्रमा एक साता अगाडी सीतापुर, औरही र जमुनियाँ प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको बताइएको छ ।