समाचार

सार्क मुलुकमा कोरोना रोकथाम गर्न भुटानपछि नेपाल सफल

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको अहिलेसम्मको अवस्थाका सार्क मुलुकमध्ये भुटान र नेपाल सफल देखिएका छन् ।

सार्कमा कोभिड– १९ को रोकथाम र नियन्त्रणमा नेपालको भूमिमा भूटानपछि राम्रो रहेको निकष्कर्षमा सरकारले पुगेको हो ।

नेपाल र भुटानमा अहिलेसम्म कोरोनाका कारण बिरामीले ज्यान गुमाउनु परेको छैन । यी दुबै मुलुकमा मानिसलाई संक्रमण समेत निकै कम छ ।

सार्कका आठ देशमध्ये छ मुलुकमा भने कोरोना सङ्क्रमणका कारण मानिसको ज्यान गइसकेको छ ।

तथ्यांक अनुसार भारतमा शनिबारसम्म एक हजार २२३ व्यक्तिले ज्यान गुमाएका छन् । पाकिस्तानमा ४१७, बङ्गलादेशमा १७५, अफगानिस्तानमा ७२, श्रीलङ्कामा सात र माल्दिभ्समा एक जनाको कोरोनाका कारण ज्यान गएको छ ।

भारतमा ८९ प्रतिशत भागमा कोभिड– १९ को सङ्क्रमण फैलिएको छ । मन्त्रालयका अनुसार सार्क राष्ट्रमा कोरोना रोकथाममा भूटान, माल्दिभ्स र नेपाल सफल देखिएका छन् ।

माल्दिभ्समा परीक्षणको दायरा सबैभन्दा बढी रहेको छ । नेपालको प्रति १० लाखमा दुई हजार २९ जनाको परीक्षण गरिएको छ ।

भूटानमा प्रति १० लाखमा १३ हजार ९१ र माल्दिभ्समा १४ हजार ८१५ जनामा परीक्षण भएको तथ्यांक रहेको छ ।

जनसङ्ख्याका हिसाबले भने सबभन्दा बढी परीक्षण नेपालमा रहेको मन्त्रालयले जनाएको छ । भारतमा भ प्रति १० लाखमा ६५४ जनामा मात्र परीक्षण भएको छ ।

अन्य मुलुकमा पनि प्रति १० लाख परीक्षणको मात्र कम रहेको छ ।

दक्षिण एशियाली मुलुकमा नेपालमा पहिलो पटक कोभिड– १९ को सङ्क्रमण देखिएको हो । नेपालमा ९ माघमा चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा कोभिड– १९ को सङ्क्रमण देखिएको थियो ।

तर, शनिबारसम्म मात्र ५९ जनामा मात्र कोरोना पुष्टी भएको छ ।

नेपालमा पीसीआरबाट १३ हजार ९८ र आरडिटीबाट ४८ हजार ५२९ मा परीक्षण गरी जम्मा ६१ हजार ६२७ जनामा परीक्षण गरिएको छ । १६ जना निको भएर घर फर्किएका छन् ।