समाचार

सीमा नाकामा प्रहरीको तैनाथी बढाइने, महत्वपूर्ण क्षेत्रको सुरक्षा सेनाबाट

काठमाडौं । सरकारले सीमा नाकामा प्रहरीको तैनाथी बढाउने भएको छ । महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र त्यहाँ खटिएका सशस्त्र तथा नेपाल प्रहरीलाई सीमा सुरक्षामा खटाउने निर्णय सरकारले गरेको हो ।

अब कारागार, विकास निर्माण आयोजनासहित संवेदनसिल क्षेत्रमा खटिएका प्रहरीलाई समेत सीमा सुरक्षामा खटाइने भएको छ ।

ती क्षेत्रको सुरक्षाको जिम्मा भने नेपाली सेनालाई दिइने भएको छ ।

आइतबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुहरुको बैठक बसेको थियो ।

कोभिड–१९ ले भारतमा उच्च गतिमा फैलावट लिएपछि नेपालमा हुन सक्ने जोखिम न्यूनिकरण गर्न सीमा क्षेत्रमा कडाई गर्न लागिएको हो ।

यसअघि आइतबार नै मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट कुनै पनि व्यक्तिलाई नेपाल आउन नदिने वातावरण बनाउन निर्देशन दिएका थिए ।

भारतमा ४० हजार भन्दा बढीमा संक्रमण फैलिसकेको छ । तर, नेपालको तराई क्षेत्रमा लुकिछिपी आवतजावत गर्ने उत्तिकै छन् ।

बैठकले सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानूनी कारवाही गर्नुपर्ने निर्णय समेत गरेको छ ।

भारतमा रहेका नेपालीलाई भने कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय भएको बताइएको छ ।

कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एशियातर्फ बढ्न लागेकाले खुला सीमानामा कडा सावधानी अपनाउनुको विकल्प नरहेको बताएका थिए । सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिए ।